प्रहार समाचार । काठमाडौँ, २९ जेठ २०८३ शुक्रबार । नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ।

लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थान तथा पहाडी र हिमाली क्षेत्रका केही भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।यस्तै आज राति पनि कोशी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

उता मधेश प्रदेश, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।मौसममा आएको परिवर्तनका कारण दैनिक जनजीवन, कृषि कार्य, सडक यातायात तथा हवाई सेवामा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी वर्षा, चट्याङ र हिमपातको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइएको छ।





















