हेडलाईनव्याससमाचारगण्डकी

व्यास–२ मा पुराना विद्युत् पोल हटाउने अभियान सुरु, केबल कम्पनीलाई तार तत्काल स्थानान्तरण गर्न आग्रह

प्रहार समाचार । तनहुँ, २८ जेठ २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–२ मा वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका पुराना विद्युत् पोल हटाउने तथा आवश्यक स्थानमा नयाँ पोल र तार व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा बुधबारदेखि अभियानको औपचारिक शुभारम्भ गरिएको वडा कार्यालयले जनाएको छ।

 

यस अभियानले सडक तथा सार्वजनिक क्षेत्रको सौन्दर्य कायम गर्नुका साथै विद्युत् तथा सञ्चार सेवाको सुरक्षा र व्यवस्थित सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। वडा कार्यालयका अनुसार नयाँ पोल जडान भइसकेका स्थानमा पुराना पोल हटाउने प्रक्रिया अघि बढाइएको भए पनि कतिपय नेटवर्किङ कम्पनी तथा नेपाल टेलिकमका तारहरू अझै पुरानै पोलमा रहेको पाइएको छ। सम्बन्धित सेवा प्रदायकहरूलाई यसअघि नै पुराना पोलबाट नयाँ पोलमा तार स्थानान्तरण गर्न अनुरोध गरिएको भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको जनाइएको छ।

वडा सदस्य सुरेश वाग्लेले पुराना पोलमा रहेका केबल तथा सञ्चारका तारका कारण पोल हटाउने कार्य प्रभावित भइरहेको बताए। उनले सम्बन्धित सबै कम्पनी तथा निकायलाई तत्काल तार स्थानान्तरण गरी अभियानलाई सहयोग गर्न आग्रह गरेका छन्। अन्यथा पुराना पोल हटाउने क्रममा सेवा अवरुद्ध हुन सक्ने जोखिमसमेत रहेको उनको भनाइ छ। व्यास नगरपालिका–२ वडा कार्यालयले सूचना जारी गर्दै सबै सम्बन्धित निकायलाई पुराना पोलमा रहेका तारहरू यथाशीघ्र नयाँ पोलमा सार्न अनुरोध गरेको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक परे वडा कार्यालयको सम्पर्क नम्बर ९८५६०६०२१८ मा सम्पर्क गर्न सकिने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button