प्रहार समाचार । तनहुँ, २५ जेठ २०८३ सोमबार । संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर–सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत तनहुँका १० वटा स्थानीय तहलाई कुल ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। अर्थ मन्त्रालयले वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपुरक अनुदानमार्फत उक्त रकम स्थानीय तहमा पठाएको हो।

प्राप्त विवरणअनुसार जिल्लाका स्थानीय तहले वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १४ करोड ३३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब २० करोड ९९ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १० करोड ३९ लाख रुपैयाँ तथा समपुरक अनुदानतर्फ ११ करोड ६८ लाख रुपैयाँ प्राप्त गरेका छन्। संघीय सरकारले स्थानीय तहमा आधारभूत सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनका लागि यी शीर्षकमा बजेट उपलब्ध गराउने व्यवस्था गरेको छ ।
तनहुँका व्यास, शुक्लागण्डकी, भानु, भीमाद, बन्दीपुर, आँबुखैरेनी, ऋषिङ, म्याग्दे, देवघाट र घिरिङ गाउँपालिका तथा नगरपालिकाले प्राप्त गर्ने अनुदानबाट आगामी वर्षका विकास निर्माण, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नेछन्। विशेष गरी सशर्त अनुदानको हिस्सा सबैभन्दा बढी रहेकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सामाजिक सुरक्षाजस्ता संघीय कार्यक्रम कार्यान्वयनमा यसको ठूलो योगदान रहने अपेक्षा गरिएको छ ।
संघीय सरकारले स्थानीय तहको जनसंख्या, भूगोल, विकासको अवस्था, पूर्वाधार आवश्यकता तथा सेवा प्रवाहको दायित्वलाई आधार बनाएर अनुदान वितरण गर्ने गरेको छ। प्राप्त अनुदानको प्रभावकारी परिचालनबाट स्थानीय विकासलाई गति दिने तथा नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व अब स्थानीय तहको काँधमा आएको छ।




















