हेडलाईनव्याससमाचारगण्डकी

शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन तनहुँका प्रहरी प्रमुख एसपी कार्कीको आग्रह

प्रहार समाचार । तनहुँ, २५ जेठ २०८३ सोमबार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीले कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, कारोबार तथा अभिलेख व्यवस्थित राख्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्। उनले अपराध नियन्त्रण र शान्ति सुरक्षाको सुदृढीकरणमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताएका छन्।

 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार दमौली बजार क्षेत्रमा वर्कसप तथा कवाड व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूसँग आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै एसपी कार्कीले सवारी साधन चोरी तथा त्यससँग सम्बन्धित अवैध गतिविधि नियन्त्रणमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले चोरी भएका मोटरसाइकलका पार्टपुर्जा बिक्री हुने, सवारी साधनलाई अवैध रूपमा मोडिफाइ गरी प्रयोग गरिने जस्ता गतिविधिप्रति विशेष सतर्कता अपनाउन आग्रह गरे। एसपी कार्कीले वर्कसप संज्यालकले आफ्ना कामदारको सहि तत्याङ्क राख्न आग्रह गर्दै कवाड व्यावसायीहरुलाई चोरीका सामान खरिद नगर्न तथा त्यसो गरेको पाइए कानुन बमोजिम कारबाही गरिने उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय तनहुँको सभाहलमा सम्पन्न कार्यक्रममा ४२ जना व्यवसायीहरूको सहभागिता रहेको थियो। त्यस अबसरमा प्रहरी र व्यवसायीबीच अपराध न्यूनीकरण, कानुनी सचेतना तथा सुरक्षा चुनौतीका विषयमा खुला छलफल गरिएको थियो। अन्तरक्रियामा सहभागी व्यवसायीहरूले आफ्ना जिज्ञासा, अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा समुदायको सुरक्षा, अपराध नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनका लागि प्रहरी र व्यवसायीबीचको समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। प्रहरीले समुदायको सहयोगबिना अपराध नियन्त्रण प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै सबै पक्षको सक्रिय सहभागितामा सुरक्षित समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button