प्रहार समाचार । दमौली, जेठ २४ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशनबाट विश्वनाथ बास्तोला सभापतिमा निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि भएको मतदानमा बास्तोलाले १ सय ८७ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत प्राप्त गरेका थिए। नेतृत्वमा सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनमा २ सय ५९ मत खसेको थियो।

उपसभापति पदमा विष्णुबहादुर पन्त १ सय ३१ मतसहित विजयी भए।

उनका निकटतम प्रतिस्पर्धी पदमराज न्यौपानेले १ सय २४ मत प्राप्त गरेका थिए। यस्तै सहसचिव पदमा दुर्गाकुमार श्रेष्ठ १ सय २७ मतसहित निर्वाचित हुँदा पदमबहादुर सुनारले एक मत कम अर्थात १ सय २६ मत प्राप्त गरि नमिठो हार व्यहोरेका छन्।

केही पदमा अत्यन्त प्रतिस्पर्धात्मक मतपरिणाम देखिएको निर्वाचन समितिले जनाएको छ।अधिवेशनबाट कार्यसमितिका केही सदस्य भने सर्वसम्मत चयन भएका छन्।
सर्वसम्मत रूपमा चयन हुने सदस्यहरूमा शुन्दर बस्याल, हरिकुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, केशबहादुर थापा, सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल तथा शशी रूपाखेतीलगायत रहेका छन्। पार्टीभित्र सहमतिका आधारमा नेतृत्व निर्माण गर्ने प्रयास भए पनि प्रमुख पदहरूमा भने मतदानको सहारा लिनुपरेको थियो। क्षेत्रीय नेतृत्वतर्फ भने सहमति कायम भएको छ। क्षेत्र नम्बर १ को क्षेत्रीय समिति संयोजकमा बन्दीपुरकी शशी रूपाखेती सर्वसम्मत चयन भएकी छन् भने क्षेत्र नम्बर २ को संयोजकमा शुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन्।

नव निर्वाचित सभापति बास्तोलाले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको प्रत्यक्ष सम्बन्ध विस्तारमा जोड दिँदै सबै पक्षलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनमा प्रतिस्पर्धा भए पनि अब सबैलाई समेटेर रास्वपालाई तनहुँमा थप बलियो र प्रभावकारी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गर्ने उनले उल्लेख गरे। नयाँ नेतृत्व चयनसँगै रास्वपा तनहुँले संगठन विस्तार र जनमुखी गतिविधिलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।





























