प्रहार समाचार । तनहुँ, २४ जेठ २०८३ आइतबार । तनहुँको निर्मल माध्यमिक विद्यालय, व्यास–१, दमौलीका एसएलसी ब्याच २०४७ का पूर्वविद्यार्थीहरूले आफ्ना स्वर्गीय साथी बुद्ध दाहालको स्मृतिमा सामाजिक उत्तरदायित्व वहन गर्दै बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेका छन्। व्यास–१ मा रहेको उनकै नाममा स्थापीत बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई झोला, स्टेशनरीलगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बोल्दै व्यास –१ का वडा सदस्य मणिजङ्ग बस्नेतले समाज रूपान्तरणका लागि शिक्षा सबैभन्दा बलियो आधार भएकाले यस्ता सहयोगमूलक गतिविधिले विद्यार्थीमा उत्साह थप्नुका साथै सामाजिक सद्भाव र मानवीय सेवाको भावनालाई बलियो बनाउने उल्लेख गर्दै यस्ता कार्यलाई निरन्तरता दिन जोड दिए।

विद्यालय व्यवस्थापन समितिका सदस्य राधिका पन्थ, प्रधानाध्यापक कमला पौडेल तथा व्याचका शोभा भट्टराईले पनि मन्तव्य राख्दै सहयोगी भावना र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेकोमा एसएलसी ब्याच २०४७ का सदस्यहरूलाई धन्यवाद दिएका थिए।

बुद्ध दाहाल भारतीय सेनामा सात वर्ष सेवा गरेका पूर्वसैनिक थिए। उनको स्मृतिमा आयोजित कार्यक्रममा दाहालले आफ्नो अंशमा परेको जग्गामा विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको समेत स्मरण गरिएको थियो।

शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू खुसी देखिएका थिए। ब्याचका सुरेश खनालले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन सचिव मेघनाथ रिमालले गरेका थिए भने सभापतित्व विष्णु बस्नेतले गरेका थिए। कार्यक्रमले शिक्षामार्फत समाजप्रति जिम्मेवार बन्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।






























