प्रहार समाचार । तनहुँ, २४ जेठ २०८३ आइतवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन आज दमौलीमा सुरु भएको छ। नेतृत्व चयनका लागि अन्तिम समयसम्म सहमतिको प्रयास भए पनि सभापति, उपसभापति र सहसचिव पदमा सहमति जुट्न नसकेपछि ती पदका लागि निर्वाचन हुने भएको छ।जिल्ला सभापति पदमा वर्तमान जिल्ला संयोजक विश्व वास्तोला र डा. शेषरमण न्यौपानेबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।


नेतृत्वमा सहमति कायम गर्ने प्रयास सफल हुन नसकेपछि प्रतिनिधिहरूको मतबाट नयाँ सभापति चयन गरिनेछ। यस्तै उपसभापति पदका लागि विष्णु पन्त र पदमराज न्यौपाने चुनावी मैदानमा उत्रिएका छन् ।

उता सहसचिव पदमा पदम सुनार र दुर्गाकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ।अधिवेशनमा सदस्य पदतर्फ भने सहमति जुटेको छ। प्रारम्भमा १३ जनाको उम्मेदवारी परे पनि छलफलपछि सदस्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। सर्वसम्मत चयन हुने सदस्यहरूमा शुन्दर बस्याल, हरिकुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, केशबहादुर थापा, सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, सशी रूपाखेतीलगायत रहेका छन्।

क्षेत्रीय नेतृत्वतर्फ पनि सहमति कायम भएको छ। क्षेत्र नम्बर १ को क्षेत्रीय समिति संयोजकमा बन्दीपुरकी शशी रूपाखेती सर्वसम्मत चयन भएकी छन् भने क्षेत्र नम्बर २ को संयोजकमा शुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनमा अधिकांश पदमा सहमति जुटे पनि प्रमुख पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने भएपछि प्रतिनिधिहरूको ध्यान मतदान प्रक्रियामा केन्द्रित भएको छ। नेतृत्व चयनको अन्तिम टुंगो निर्वाचनबाट लाग्ने भए पनि अधिवेशनले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रयास जारी रहेको बताइएको छ।





























