हेडलाईनव्याससमाचारगण्डकीघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँ–२ मा यस वर्षको बजेट : सडक, पुल र झोलुङ्गे पुल लगायतका १९ आयोजना समेटिए

प्रहार समाचार । तनहुँ, २४ जेठ २०८३ आइतबार ।आर्थिक वर्ष २०८३/०८४ का लागि तनहुँ निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालन हुने १९ वटा महत्वपूर्ण आयोजना बजेटमा समेटिएका छन् । सडक स्तरोन्नति, मोटरेबल पुल, झोलुङ्गे पुल तथा सडक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्दै जिल्लाका विभिन्न स्थानीय तहमा पूर्वाधार विस्तारका योजना अघि बढाइने भएको छ ।

 

यी आयोजनाले तनहुँका ग्रामीण तथा शहरी क्षेत्रको यातायात पहुँच सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बजेटमा व्यास, शुक्लागण्डकी, भिमाद, घिरिङ, रिसिङ तथा म्याग्दे क्षेत्रलाई जोड्ने सडक र पुल निर्माणका योजनाहरू समावेश गरिएका छन् । माहेन्द्री ग्रामीण सडक, बङ्गाली खोला सडक, हर्कपुर–दुलेगौंडा सडक, दुलेगौंडा–साँखे–राईपुर–कोल्मा–घुम्ती सडक तथा शालिग्राम कोरिडोरजस्ता रणनीतिक महत्वका सडक आयोजनाले स्थानीय बासिन्दाको आवागमन सहज बनाउने विश्वास गरिएको छ । यस्तै चापाघाट–पतेनी–शिसाघाट जोड्ने माहेन्द्री ग्रामीण मोटरमार्गलाई पनि बजेटमा स्थान दिइएको छ ।

यसैगरी सेती, मादी, कालीगण्डकी, म्याग्दे र कुम्ले खोलामा मोटरेबल पुल निर्माणका आयोजना समेटिएका छन् । शुक्लागण्डकीका विभिन्न वडालाई जोड्ने सेती नदीका दुई पुल, मधुबनस्थित कालीगण्डकी पुल, महेन्द्री मार्गअन्तर्गत मदी खोला पुल तथा धरौली–रिठ्ठेपानी जोड्ने म्याग्दे खोला पुल निर्माणको योजना अघि सारिएको छ । साथै व्यास, शुक्लागण्डकी र अन्य क्षेत्रका पाँचवटा झोलुङ्गे पुल निर्माणका योजनाले दुर्गम बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । सहरी पूर्वाधारतर्फ घिरिङ र रिसिङ गाउँपालिकाका लागि २ करोड ५० लाख रुपैयाँ तथा भिमाद र शुक्लागण्डकी नगरपालिकाका लागि जनही १ करोड ५० लाख रुपैयाँ बराबरको सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

व्यास र रिसिङ–१ जोड्ने शान्तिनगर पक्की पुलसमेत योजनामा परेकाले तनहुँ–२ मा आगामी वर्ष पूर्वाधार विकासले नयाँ गति लिने संकेत देखिएको छ । स्थानीयवासीले भने बजेटमा योजना समेटिनु मात्र पर्याप्त नभई समयमै कार्यान्वयन र गुणस्तरीय निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button