हेडलाईनसमाचारबन्दीपुरगण्डकीम्याग्देशुक्लागण्डकी

बिहानीपख बढ्दो दुर्घटना रोक्न तनहुँ प्रहरीको कडा निगरानी, चालक सचेतना अभियान सडकमै

प्रहार समाचार । तनहुँ, २४ जेठ २०८३ आइतबार । तनहुँमा पछिल्लो समय बिहानको समयमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना अभियानलाई तीव्रता दिएका छन्। आइतबार बिहान पनि पोखरा–मुग्लिङ सडकखण्डमा विशेष निगरानीसहित चालकहरूलाई सचेत गराउने कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

 

बिहान ४ बजेदेखि सुरु गरिएको अभियान आँबुखैरेनी गाउँपालिका–२ बसपार्क, म्याग्दे गाउँपालिका–४ थर्पुबजार तथा शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बजार गरी तीन स्थानमा एकसाथ सञ्चालन गरिएको छ। बिहानको समयमा निद्रा, लापरवाही, अत्यधिक गति तथा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई सुरक्षित यात्रा सम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।


अभियानका क्रममा लामो दूरीका तथा स्थानीय सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र पर्याप्त विश्रामपछि मात्रै यात्रा गर्न आग्रह गरिएको छ। साथै सवारीको प्राविधिक अवस्था जाँच गरी सुरक्षित यात्रालाई प्राथमिकता दिन समेत सुझाव दिइएको छ।


तनहुँ प्रहरीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रहरीको यो अभियानलाई यात्रु तथा स्थानीयवासीले समेत सकारात्मक रूपमा लिँदै दुर्घटना नियन्त्रणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button