हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानु नगरको योजनामै गुणस्तरमाथि गम्भीर प्रश्न : खुट्टाले चलाउँदा नै नालाको भाग झर्न थालेपछि स्थानीय आक्रोशित

प्रहार समाचार । तनहुँ, २२ जेठ २०८३ शुक्रबार । तनहुँको भानु नगरपालिका–१३ अन्तर्गत हाजिचोकदेखि लम्केसम्म निर्माण भइरहेको सडक तथा पक्की नाला योजनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। करिब तीन करोड रुपैयाँ बजेट विनियोजन भएको उक्त योजनामा निर्माण गरिएको नाला अत्यन्तै कमजोर रहेको भन्दै स्थानीयवासीले छानबिन र अनुगमनको माग गरेका छन्। विकास निर्माणका नाममा राज्यको ठूलो रकम खर्च भइरहेका बेला निर्माणको गुणस्तर नै कमजोर देखिएपछि स्थानीयस्तरमा चर्को असन्तुष्टि फैलिएको छ।

 

स्थानीय नाजुम दिन मियाका अनुसार निर्माण गरिएको पक्की नालाको केही भाग खुट्टाले सामान्य रूपमा चलाउँदा समेत सिमेन्ट र गिट्टीको तह फुसफुस झर्ने गरेको पाइएको छ। यसले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तर तथा प्राविधिक मापदण्डमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयले ठेकेदार कम्पनीले बढी नाफा कमाउने उद्देश्यले निर्माण सामग्रीमा कटौती गरेको आरोप लगाएका छन्। पंकज अधिकारी ठेकेदार रहेको बताइएको उक्त योजनाको काम तत्काल प्राविधिक परीक्षण गर्नुपर्ने माग स्थानीयको छ।मियाले भानु नगरपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष कृष्णबहादुर अधिकारी, योजना शाखा तथा सम्बन्धित सरोकारवाला निकायलाई स्थलगत निरीक्षण गर्न आग्रह गरेका छन्। यस विषयमा वडा अध्यक्ष अधिकारीसँग सम्पर्क गर्दा उनले निर्माण कार्यमा कमजोरी वा लापरबाही भेटिए तत्काल कारबाही गरिने र आफू फिल्डमा पुगेर अनुगमन गर्ने बताएका छन्।

उनले गुणस्तरमा कुनै सम्झौता नगरिने भन्दै वास्तविक अवस्था बुझेर आवश्यक निर्णय लिइने उल्लेख गरेका छन्।उता स्थानीय समाजसेवी गल गुरुङले भानु–१३ मा सञ्चालन भएका योजनाबारे सामाजिक सञ्जालमा लगातार प्रश्न उठिरहे पनि सम्बन्धित निकायबाट आधिकारिक धारणा सार्वजनिक नभएको बताएका छन्। उनले जनप्रतिनिधि, निर्माण कम्पनी, पूर्वाधार विकास कार्यालय तनहुँका प्राविधिक, नगरपालिकाका प्राविधिक, उपभोक्ता समिति र स्थानीय सरोकारवालालाई एकै ठाउँमा राखेर सार्वजनिक सुनुवाइ गर्न माग गरेका छन्। “सडक खोतलेर भिडियो बनाउनेभन्दा पनि तथ्य, कागजात र प्राविधिक परीक्षणका आधारमा वास्तविकता बाहिर ल्याउनुपर्छ,” उनले बताएका छन्। निर्माण सम्पन्न नहुँदै नालाको संरचना खुट्टाको सामान्य दबाबले समेत भत्किन थालेको दाबी सार्वजनिक भएपछि भानु–१३ को यो योजना अहिले स्थानीय तहमा विकास बजेटको सदुपयोग, गुणस्तर नियन्त्रण र जवाफदेहिताको गम्भीर बहसको विषय बनेको छ।

       

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button