प्रहार समाचार । तनहुँ, २२ जेठ२०८३ शुक्रबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाकोलागि आर्थिक वर्ष २०८३/८४ मा विभिन्न पूर्वाधार तथा विकास आयोजनाका लागि साढे ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ। प्राप्त विवरणअनुसार सडक, पुल, भवन निर्माण तथा शहरी पूर्वाधार विकासका योजनामा उल्लेखनीय बजेट सुनिश्चित भएको हो।बजेटअनुसार आँबुखैरेनी नगरपालिकाको आँबुखैरेनी चक्रपथ सडक स्तरोन्नति कार्यका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै आँबुखैरेनी–५ र ६ तथा बन्दीपुर–४ र ५ अन्तर्गत छिम्केश्वरीदेखि हिलेखर्क हुँदै बाहुनभञ्ज्याङ बन्दीपुर जोड्ने सडक कालोपत्रेका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। आँबुखैरेनी क्षेत्रमा शहरी सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम सञ्चालनका लागि थप १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी आँबुखैरेनी गाउँपालिका–५ स्थित सत्रसय फाँटे ढकालटारमा निर्माणाधीन बाल सुधार गृह भवनको पहिलो र दोस्रो चरणका काम सम्पन्न गर्न १५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। साथै आँबुखैरेनी–३ र ५ अन्तर्गत डेडे गाउँ खानेपानी आयोजनाका लागि १ करोड रुपैयाँ तथा त्रिशूली नदीमाथि निर्माण हुने देवघाट झोलुङ्गे पुलका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। आमडाँडा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि समेत बजेट व्यवस्था गरिएको जनाइएको छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संघीय बजेटमार्फत गाउँपालिकाका विभिन्न महत्वपूर्ण योजनाले प्राथमिकता पाएको बताउँदै यसले स्थानीय पूर्वाधार विकास, यातायात पहुँच विस्तार तथा नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने उल्लेख गरे। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्फत हालसम्म सार्वजनिक भएका योजनाबाट गाउँपालिकामा ३५ करोड ५० लाख रुपैयाँको बजेट सुनिश्चित भएको र अन्य केही योजनाका बजेट विवरण आउन बाँकी रहेको जानकारी दिए।



























