प्रहार समाचार । तनहुँ, २२ जेठ २०८३ शुक्रबार । तनहुँमा सवारी दुर्घटनाको श्रृङ्खला रोकिएको छैन। पृथ्वी राजमार्गदेखि ग्रामीण सडकसम्म दिनहुँजसो सवारी दुर्घटना भइरहेका बेला शुक्रबार बिहान फेरि आँबुखैरेनीमा बोलेरो र कन्टेनर ठोक्किँदा दुई जना घाइते भएका छन्। पछिल्ला केही सातायता तनहुँका विभिन्न स्थानमा लगातार सवारी दुर्घटना भइरहेकाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित रोयल होम्स अगाडि पृथ्वी राजमार्गमा बिहान करिब ५ बजे मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना.३ च.९६२२ नम्बरको तरकारी बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ख.२०७० नम्बरको कन्टेनर एकआपसमा ठोक्किएका हुन्। प्रारम्भिक जानकारीअनुसार कन्टेनर डिभाइडर क्रस गरी बोलेरोसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बोलेरो चालक व्यास नगरपालिका–१२ निवासी ३१ वर्षीय सुनिल विक गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसैगरी बोलेरोमा सवार भानु नगरपालिका–१२ निवासी १९ वर्षीय रितिक अधिकारीको टाउको तथा दाहिने खुट्टामा चोट लागेको छ। दुवै घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ निवासी ४५ वर्षीय दिनेश पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। तनहुँमा पछिल्ला दिनमा लगातार भइरहेका सवारी दुर्घटनाले यात्रुको सुरक्षामाथि चुनौती थपिएको छ भने सडक अनुशासन र सवारी चालकको लापरबाही नियन्त्रणमा सरोकारवाला निकाय थप गम्भीर बन्नुपर्ने देखिएको छ।



























