प्रहार समाचार । तनहुँ, २१ जेठ २०८३ बिहीबार । तनहुँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विकासका लागि केन्द्रीय सरकारले उल्लेखनीय बजेट विनियोजन गरेको छ। पूर्वीय दर्शनका अध्येता तथा वेदान्त दर्शनका प्रवर्तक व्यास ऋषिको जन्मस्थल व्यासक्षेत्र र छाव्दी मन्दिर क्षेत्रको विकासका लागि एकमुष्ट पाँच करोड रुपैयाँ विनियोजन भएको जानकारी प्राप्त भएको छ। यस्तै नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको समग्र विकासका लागि केन्द्रीय सरकारले २४ करोड ७८ लाख रुपैयाँ बजेट छुट्याएको छ।

उक्त रकमबाट जन्मस्थल क्षेत्रको पूर्वाधार विकास, संरक्षण तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ।यसका साथै आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित भानुभक्त प्राणी उद्यानका लागि पनि २४ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको जनाइएको छ। सरकारले विनियोजन गरेको बजेटले तनहुँका प्रमुख पर्यटकीय तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

नेपाललाई विश्वसामु परिचित गराउन योगदान पुर्याएका व्यास ऋषि र आदिकवि भानुभक्त आचार्यको सम्मानमा गरिने विकास निर्माणका कार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमार्फत तनहुँ जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सभापति विश्व बास्तोलाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तनहुँवासीका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्।



























