दमौली, २० जेठ । शुक्लागण्डकी नगरपालिकामा साईकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिलोचन लम्सालको अध्यक्षतामा शुक्लागण्डकी साईकल क्लब गठन गरिएको छ। विश्व साईकल दिवस २०२६ को अवसरमा नगरभरिका साईकलप्रेमीहरूको सहभागितामा सम्पन्न भेलाले १७ सदस्यीय तदर्थ समिति चयन गरेको हो।

गठित समितिको उपाध्यक्षमा ज्योति कुमार श्रेष्ठ, सचिवमा तारानाथ अधिकारी तथा कोषाध्यक्षमा सुरक्षा पौडेल चयन भएका छन्। त्यसैगरी होमबहादुर गुरुङ, सुमन सापकोटा, सुजन कुमार श्रेष्ठ, लक्ष्मण महत, अशोक पौडेल, अमृत घिमिरे, मानबहादुर परियार, देविभक्त राना, ईश्वर श्रेष्ठ, सफल पौडेल र तुलबहादुर क्षेत्री सदस्यमा रहेका छन्। भेलाले क्लबका सल्लाहकारमा घनश्याम पौडेल र महेन्द्र पौडेललाई चयन गरेको छ।

साईकलप्रेमीहरूलाई एउटै छातामुनि संगठित गर्दै नगर क्षेत्रमा साईकल चलाउने संस्कृतिको विकास गर्ने, नागरिकलाई नियमित शारीरिक अभ्यासतर्फ प्रेरित गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यसहित क्लब गठन गरिएको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष त्रिलोचन लम्सालले शुक्लागण्डकीमा साईकललाई स्वास्थ्य, खेलकुद, पर्यटन र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अगाडि बढाइने बताए। उनले साईकलमैत्री समाज निर्माण, साईकल यात्राको प्रवर्द्धन तथा युवापुस्तालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्न क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।



























