हेडलाईनव्याससमाचारगण्डकी

हावाहुरी, असिना र पहिरोले तनहुँको व्यास–१३ तहसनहस, गेग्रानले दुई घर पुरियो

प्रहार समाचार । तनहुँ, १३ जेठ २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–१३ मा जेठ १२ गते बेलुकी आएको भीषण हावाहुरी, असिना र अविरल वर्षाले ठूलो क्षति पुर्‍याएको छ । प्राकृतिक विपत्तिका कारण कृषकका मकैबाली, बर्खे खेती, फलफूल तथा तरकारी बाली पूर्णरूपमा नष्ट भएका छन् भने विभिन्न स्थानमा रूख ढल्दा सडक अवरुद्ध बनेका छन् । हावाहुरीले कतिपय गोठ तथा टहराका छाना समेत उडाएको स्थानीयले बताएका छन् ।

व्यास–१३ को छाब्दी जब्दारी टोलमा जङ्गलबाट खोल्सा हुँदै बगेर आएको लेदो र गेग्रानले स्थानीय सुमित्रा थापाका दुई वटा कच्ची घर पुरिएको छ । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा तथा खाद्यान्नसमेत पुरिएर नष्ट हुँदा पीडित परिवार समस्यामा परेको छ । घटनामा भने मानवीय क्षति नभएको जनाइएको छ । घटनापछि जेठ १३ गते बिहान वडा अध्यक्ष बसन्तबहादुर आलेको नेतृत्वमा प्राविधिकसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि तत्काल गेग्रान पन्छाएर पीडितको घर सफा गर्ने, पहिरो नियन्त्रणका लागि ग्याबियन वाल निर्माण, बाँसको पर्खाल लगाउने तथा वृक्षरोपण गर्ने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।

यस्तै, छाब्दी जब्दारी टोल विकास संस्थाका पदाधिकारीहरूले नगरपालिका र वडा कार्यालयबाट आवश्यक बजेट तथा सामग्री उपलब्ध भए जनश्रमदानमार्फत पहिरो नियन्त्रणको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मौसम अझै सक्रिय रहेकाले थप विपत्ति आउन सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सरोकारवाला निकायले आग्रह गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button