प्रहार समाचार । काठमाडौं, १३ जेठ २०८३ बुधबार । नेपाल प्रेस युनियनले आफ्नो ३५औँ स्थापना दिवस तथा विधान सभाको अवसरमा आज बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गर्दै प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र सरकारी रवैयाप्रति कडा असन्तुष्टि जनाएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले वर्तमान सरकारले प्रेसमाथि दमनकारी व्यवहार देखाएको आरोप लगाउँदै स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।

उनले लोकतन्त्रको आधार नै स्वतन्त्र प्रेस भएकाले सञ्चार क्षेत्रमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारलाई आग्रह गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, वरिष्ठ उपाध्यक्ष दिलिप आचार्य लगायत ७७ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समापन कोणसभालाई सम्बोधन गर्दै महासंघका महासचिव दाहालले सरकारले प्रेसमाथि गरेको दमन कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै समानुपातिक र न्यायोचित विज्ञापन वितरण नीति अवलम्बन गर्न सरकारसँग माग गरे ।
























