हेडलाईनसमाचारगण्डकी

बेशीसहर नपालाई ‘परिणाममुखी नगर’ बनाउन रास्वपा नेता शर्माको ११ बुँदे सुझाव

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुड, १३ जेठ २०८३ बुधबार । लमजुङको बेशिसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पार्टीका नेता भोला शर्माले सुशासन, रोजगारी र जनउत्तरदायी विकासलाई केन्द्रमा राख्दै ११ बुँदे सुझाव पेश गरेका छन् । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम निर्माणको तयारी भइरहेका बेला शर्माले नगर प्रमुख अर्यालसमक्ष सुझावपत्र बुझाउँदै “भाषण होइन, परिणाम देखिने काम” आवश्यक भएको बताएका हुन् ।

शर्माले नगरपालिकाको नीति तथा कार्यक्रम कागजमा सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको हुनुपर्ने बताएका छन् । वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन, उद्घाटन र घोषणा भन्दा परिणाममुखी काममा जोड दिन आग्रह गर्दै उनले भ्रष्टाचार, बिचौलिया संस्कृति, पहुँचको राजनीति र देखावटी विकास अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन् । “अब जनताले रंगीन पुस्तिका होइन, परिणाम चाहेका छन्,” भन्दै उनले नगरपालिकालाई सेवा दिने संस्था बनाउने कि राजनीतिक भर्ती केन्द्र बनाउने भन्नेमा स्पष्ट दिशा तय गर्नुपर्ने बताएका छन् ।

११ बुँदे सुझावमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सुशासन, युवा तथा वातावरणका विषयलाई प्राथमिकतामा राखिएको छ । सामुदायिक विद्यालय सुधार, प्राविधिक तथा सीपमूलक शिक्षा, डिजिटल सेवा विस्तार, सार्वजनिक ड्यासबोर्डमार्फत योजना र खर्च सार्वजनिक गर्नुपर्ने, युवालाई कृषि तथा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै नगर अस्पताल तथा स्वास्थ्य चौकीको सेवा स्तर वृद्धि, मानसिक स्वास्थ्य तथा लागुऔषध दुर्व्यसन नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।सुझावपत्रमा वेसीसहरलाई पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्दै धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने, पदमार्ग, होमस्टे र स्थानीय कला–संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने उल्लेख छ ।

साथै दीर्घकालीन गुरुयोजनाअनुसार सडक, ढल, खानेपानी तथा बजार व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक पार्क, खेलमैदान र खुला क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।शर्माले अनावश्यक भ्रमण, गोष्ठी तथा देखावटी कार्यक्रम कटौती गर्दै बजेट आवश्यकता र परिणामका आधारमा विनियोजन गर्नुपर्ने बताएका छन् । “कमिसन खाने योजना” बन्द गरी दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्ने, ठेकेदार र बिचौलियामाथि नियन्त्रण गर्नुपर्ने तथा बेरोजगार युवालाई सीप, लगानी र रोजगारीसँग जोड्ने स्पष्ट नीति ल्याउनुपर्ने उनको सुझाव छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button