हेडलाईनव्याससमाचारगण्डकी

व्यवसायीको दबाबमा आफ्नै निर्णय उल्ट्यो व्यास नगरले

प्रहार समाचार । तनहुँ, १२ जेठ २०८३ मंगलबार । दमौली बजारको ट्राफिक व्यवस्थापनका नाममा कडाइ गर्दै व्यवसायीमाथि दबाब सिर्जना गरेको व्यास नगरपालिकाले अन्ततः आफ्नै निर्णयबाट पछि हट्ने संकेत गरेको छ । व्यवसायी, यातायात व्यवसायी तथा स्थानीयको तीव्र असन्तुष्टि र विरोधपछि नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै “काम विशेषले आउने ग्राहकका लागि” दुई पाङ्ग्रे सवारीलाई सीमित समयका लागि पसल अगाडि राख्न दिने निर्णय सार्वजनिक गरेको हो ।

यससँगै केही दिनअघि ‘सफा सडक’ अभियान भन्दै पूर्ण निषेधको शैलीमा अघि बढेको नगरपालिकाको अडान कमजोर बनेको देखिएको छ ।नगरपालिकाले २०८३ जेठ १० गतेदेखि दमौली बजार क्षेत्रमा १५ गतेसम्म परीक्षणकाल लागू गर्दै ट्राफिक व्यवस्थापन र पार्किङ नियन्त्रणमा कडाइ थालेको थियो । तर निर्णय कार्यान्वयनको सुरुवातसँगै व्यवसायीहरूले ग्राहक नै पसलसम्म आउन छाडेको, व्यापार चौपट बन्न थालेको तथा नगरपालिकाले वास्तविक अवस्था नबुझी एकतर्फी निर्णय लाद्न खोजेको भन्दै चर्को विरोध गरेका थिए । त्यसपछि नगरप्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा सरोकारवालासँग पुनः छलफल गरिएको थियो ।

नगर प्रमुख न्यौपानेद्वारा न जारी विज्ञप्तिमा परीक्षण अवधि सकिएपछि आवश्यक निर्णय लिइने उल्लेख गर्दै हाललाई व्यवसायिक पसलमा काम विशेषले आउने ग्राहकका लागि मात्र दुई पाङ्ग्रे सवारी साधन १५ देखि २० मिनेटसम्म पसल नजिक राख्न दिइने जनाइएको छ । सफा सडक क्षेत्रमा एकतर्फी तथा पृथ्वीराजमार्गको सर्भिस लेनमा यस्तो व्यवस्था लागू गरिने उल्लेख गरिएको छ । नगरपालिकाले यसलाई व्यवस्थापनको लचकता भने पनि व्यवसायीहरूले यसलाई आन्दोलनको दबाबपछि आएको “बाध्यात्मक पछाडि हटाइ” का रूपमा व्याख्या गरेका छन् । स्थानीय व्यवसायीहरूका अनुसार नगरपालिकाले सुरुदेखि नै व्यवसायी, सर्वसाधारण र बजारको वास्तविक अवस्था नबुझी हतारमा निर्णय गर्दा समस्या उत्पन्न भएको हो । “पहिले कडाइ गरेर बजार नै सुनसान बनाइयो, अहिले फेरि आफैं निर्णय सच्याउनुपरेको छ,” एक व्यवसायीले प्रतिक्रिया दिए । दमौली बजारमा ट्राफिक व्यवस्थापनको बहस चलिरहेकै बेला नगरपालिकाको पछिल्लो कदमले प्रारम्भिक निर्णयमाथि नै प्रश्न उठाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button