हेडलाईनसमाचारबागमती

ग्यालेक्सी टिभीका सामान अलपत्र, महानगरले दियो १५ दिने ‘अन्तिम अल्टिमेटम’

प्रहार समाचार । काठमाडौं, १२ जेठ २०८३ मंगलबार । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिको नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोरके टेलिभिजनका सामान तत्काल उठाउन चेतावनी दिएको छ। लामो समयदेखि घरधनीको भवनमा थन्किएका टेलिभिजनका उपकरण नहटाइएपछि महानगरले अब कानुनी प्रक्रियाअनुसार लिलामीसम्मको तयारी अघि बढाएको हो। काठमाडौं महानगरपालिका–३ का घरधनी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध घरभाडा असुल गरी घरजग्गा खाली गराइपाऊँ भन्दै दायर गरेको मुद्दामा महानगरको न्यायिक समिति र उच्च अदालत पाटनले गत कात्तिकमै भवन खाली गराउन आदेश दिएको थियो।

आदेशपछि कार्यालय खाली गरिए पनि टेलिभिजनका विभिन्न सामग्री भने अहिलेसम्म त्यहीँ अलपत्र अवस्थामा रहेको बताइएको छ।घर खाली भएको करिब ६ महिना बितिसक्दा पनि सम्बन्धित पक्ष सामान लिन नआएपछि घरधनी मिश्रले गत वैशाख २१ गते महानगरमा निवेदन दिँदै ती सामग्री लिलाम गरी आफ्नो बाँकी भाडा असुल गरिदिन माग गरेका थिए। त्यसपछि महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र बाँकी भाडा बुझाई सामान नलगिए कानुनी प्रक्रिया अनुसार लिलाम बिक्री गरिने स्पष्ट पारेको छ।

महानगरको यो कदमसँगै ग्यालेक्सी फोरके टेलिभिजनसँग जोडिएको विवाद फेरि चर्चामा आएको छ। महानगरले जारी गरेको सूचनालाई गोरखा मिडियामाथिको अन्तिम दबाबका रूपमा हेरिएको छ भने तोकिएको समयभित्र कुनै पहल नभए टेलिभिजनका सामग्री सार्वजनिक लिलामीमा जाने अवस्था बनेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button