हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाटधाममा शंकराचार्यको आगमन : धार्मिक पर्यटनमा नयाँ आशा

प्रहार समाचार । तनहुँ, ९ जेठ २०८३ शनिबार । तनहुँको धार्मिकस्थल देवघाटधाम आगामी जेठ १४ गते दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीको आगमनले थप धार्मिक र आध्यात्मिक महत्त्व बोकेको स्थलका रूपमा चर्चामा आउने भएको छ । भारतको शारदा पीठका पीठाधिश्वरका रूपमा परिचित शंकराचार्य विधुशेखर भारती नेपालको ऐतिहासिक धार्मिक विजय यात्राका क्रममा देवघाटधाम आउन लाग्नुभएको हो ।

जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने धार्मिक यात्राका लागि उहाँ शुक्रबार काठमाडौँ आइपुग्नुभएको छ । हिन्दु धर्म, वेद र सनातन परम्पराको संरक्षणमा सक्रिय मानिने शंकराचार्यको नेपाल भ्रमणलाई धार्मिक दृष्टिले निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी देवघाटधाम जस्तो तपोभूमिमा उहाँको उपस्थितिले धार्मिक आस्था राख्ने भक्तजन तथा साधुसन्तहरूमा उत्साह थपिएको छ । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा अवस्थित देवघाटधामलाई नेपालकै महत्वपूर्ण धार्मिक केन्द्रमध्ये एक मानिन्छ । हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा पनि शंकराचार्यको भ्रमणलाई हेरिएको छ ।

स्थानीयवासी तथा धार्मिक अगुवाहरूले उहाँको आगमनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र भक्तजनको आवागमन अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।देवघाटधाममा हुने विशेष पूजाआजा, दर्शन तथा धार्मिक प्रवचनका कार्यक्रमले क्षेत्रको आध्यात्मिक वातावरणलाई थप उचाइ दिने अपेक्षा गरिएको छ । धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रूपमा रहेको देवघाटधाममा विश्व हिन्दु समुदायको ध्यान केन्द्रित गराउने अवसरका रूपमा पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button