प्रहार समाचार । काठमाडौँ, ८ जेठ २०८३ शुक्रबार । विश्वको सर्वोच्च शिखर सगरमाथामा एकैदिन २७० भन्दा बढी आरोही पुगेपछि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा नयाँ इतिहास रचिएको छ । वसन्तकालीन आरोहण सिजनअन्तर्गत भएको यो सफलता हालसम्मकै ठूलो सामूहिक आरोहणमध्ये एक मानिएको छ । तस्बिर : सामाजिक संञ्जाल

पर्वतारोहण सञ्चालक संघ नेपाल का अनुसार अनुकूल मौसम, प्रभावकारी व्यवस्थापन र शेर्पा गाइडहरूको अथक मेहनतका कारण सगरमाथामा यसपटक सुरक्षित र व्यवस्थित रूपमा आरोहण सम्पन्न भइरहेको छ ।यस सिजनले व्यक्तिगत कीर्तिमानहरू पनि थपेको छ । नेपाली कीर्तिमानी आरोही कामिरिता शेर्पा ले ३२औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई अझै उचाइ दिएका छन् भने संखुवासभाकी लाक्पा शेर्पा ले ११औं पटक शिखर चुम्दै महिला आरोहीतर्फ नयाँ इतिहास कायम गरेकी छन् । उनीहरूको सफलताले नेपाली शेर्पा समुदायको क्षमता, साहस र विश्वसनीयतालाई फेरि विश्वसामु प्रमाणित गरेको छ ।
यस वर्ष नेपालतर्फबाट मात्रै ५०० भन्दा बढी आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो । गत मे १३ मा डोरी टाँग्ने टोलीले सफलतापूर्वक आरोहण मार्ग तयार गरेपछि औपचारिक रूपमा सगरमाथाको ‘समिट विन्डो’ खुलेको थियो । त्यसयता मौसमले साथ दिएसँगै आरोहीहरूको चहलपहल तीव्र बनेको छ । अहिले सगरमाथासहित अन्य हिमाली क्षेत्रमा पनि आरोहण गतिविधि उच्च बिन्दुमा पुगेको छ ।

संघका महासचिव ऋषि राम भण्डारी ले सबै सरोकारवाला निकाय, शेर्पा गाइड, सहयोगी कर्मचारी र आरोहीहरूको अनुशासन तथा समन्वयका कारण आरोहण गतिविधि सुरक्षित र सफल बनेको बताएका छन् । पर्यटन व्यवसायीहरूका अनुसार यो उपलब्धिले कोभिडपछिको नेपाली पर्यटन क्षेत्र पूर्ण रूपमा पुनर्जीवित भएको संकेत दिएको छ । साहसिक पर्यटनको विश्व मानचित्रमा नेपाल अझै अग्रस्थानमै रहेको सन्देश यस घटनाले पुनः स्थापित गरेको उनीहरूको भनाइ छ ।
























