हेडलाईनसमाचारसुदुर पश्चिम

प्रधानाध्यापक धामीको आत्महत्यापछि दार्चुलामा सनसनी, आठ जना पक्राउ

प्रहार समाचार । दार्चुला , ८ जेठ २०८३ शुक्रबार । दार्चुलामा एक विद्यालयका प्रधानाध्यापकले झुण्डिएर आत्महत्या गरेको घटनापछि प्रहरीले आठ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको विवरण अनुसार मालिकार्जुन गाउँपालिका–२ घर भई हाल व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेरामा प्रधानाध्यापकका रूपमा कार्यरत ४६ वर्षीय बलदेव सिंह धामी मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार जेठ ४ गते बिहान करिब साढे पाँच बजेको समयमा धामीले झुण्डिएर आत्महत्या गरेको सूचना प्राप्त भएपछि घटनाबारे गम्भीर अनुसन्धान थालिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहनको आशंकामा विभिन्न स्थानका आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–१ निवासी अन्दाजी ३२ वर्षीय बिक्रम सिंह कुँवर, महाकाली नगरपालिका–२ निवासी अन्दाजी ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ निवासी अन्दाजी ४२ वर्षीय खिमानन्द भट्ट रहेका छन् ।त्यसैगरी व्यास गाउँपालिका–४ निवासी अन्दाजी ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट र ५९ वर्षीय हरि दत्त भट्टलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै बैतडीको पाटन नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षीय पुष्करराज भट्ट पनि पक्राउ परेका छन् ।

प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेकामाथि “ज्यान सम्बन्धी कसुर अन्तर्गत आत्महत्या दुरुत्साहन” मुद्दामा अनुसन्धान भइरहेको छ ।

यस घटनामा पक्राउ परेका व्यक्तिहरूलाई दार्चुला जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखिएको उनले जानकारी दिए ।घटनापछि दार्चुलाको शैक्षिक तथा सामाजिक क्षेत्र तरंगित बनेको छ । एक विद्यालयका प्रधानाध्यापकको मृत्यु र त्यससँग जोडिएको आत्महत्या दुरुत्साहनको विषयले स्थानीय स्तरमै गम्भीर चासो र बहस सिर्जना गरेको छ । प्रहरीले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button