प्रहार समाचार । काठमाडौं, १३ बैशाख २०८३ आइतबार । राष्ट्रिय फोटोपत्रकार समूह नेपालले ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ आज विविध कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा नेपालभर तथा विदेशमा रहेका सम्पूर्ण फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।

त्यसस अवसरमा वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो ।

साथै, स्वर्गीय चुङ्वा सेर्पाको स्मृतिमा ३ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको घोषणा गरिएको छ, जसले फोटोपत्रकारितामा उत्कृष्टता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा आगामी वर्ष मनाइने १००औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसलाई विशेष बनाउन विश्वभरका १०० जना फोटोग्राफर तथा फोटोपत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने जानकारी दिइएको छ।

यसले नेपाली फोटोपत्रकारितालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए भने प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामसरण बोहरा, काठमाडौं फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे, संस्थाका पूर्व अध्यक्षहरू, स्वर्गीय चुङ्वा सेर्पाको परिवार तथा अन्य अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटोपत्रकारिताको दायरा विस्तार गर्दै पेशागत सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

























