प्रहार समाचार । तनहुँ, १३ वैशाख २०८३ आइतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई राजाको दल भनेर लगाइँदै आएको आरोपको खण्डन गर्दै त्यसलाई गलत बुझाइको संज्ञा दिएका छन्। शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले राजसंस्था कुनै पार्टीको अधीनमा नहुने र त्यसलाई दलसँग जोडेर प्रचार गर्नु राजनीतिक भ्रम सिर्जना गर्ने प्रयास मात्र भएको बताए।

उनले राप्रपा राजसंस्थाको संरक्षण र संवर्द्धनको पक्षमा उभिएको राजनीतिक शक्ति भएको उल्लेख गर्दै “राजाको पार्टी” भन्ने भाष्यले वास्तविक मुद्दाबाट ध्यान मोड्ने काम गरेको टिप्पणी गरे। राजसंस्था विचार र संरचनाको विषय भएकाले यसलाई दलगत घेराभित्र राख्न नमिल्ने उनको तर्क थियो।
लिङ्देनले गणतान्त्रिक व्यवस्थाभित्र सहभागी हुनु हुँदैन भन्ने आलोचनाप्रति पनि कटाक्ष गर्दै राजनीतिक दलको मजबुती सरकारमा जाने–नजाने भन्दा विचार र संगठनमा निर्भर हुने बताए। उनले नेमकिपा र राष्ट्रिय जनमोर्चाको उदाहरण दिँदै सरकार बाहिर बस्दैमा मात्रै पार्टी ठूलो हुने तर्क व्यवहारिक नभएको स्पष्ट पारे।
अध्यक्ष लिङ्देनले राप्रपालाई विवादित बनाउने उद्देश्यले फैलाइएका आरोपप्रति असन्तुष्टि जनाउँदै पार्टी आफ्नो वैचारिक धरातलमा स्पष्ट रहेको र राजसंस्थालाई दलभन्दा माथि राख्ने सिद्धान्तमै अडिग रहेको बताएका छन्।

























