हेडलाईनसमाचारबागमती

आमाको सम्मानमा प्रधानमन्त्री शाहको भावुक सन्देश: ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

प्रहार समाचार । काठमाडौँ, ४ वैशाख २०८३ शुक्रबार । आज मातातीर्थ औंसी । मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले आमाको माया, त्याग र योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र प्रेरणाको स्रोतका रूपमा चित्रित गर्दै हरेक सन्तानले आफ्ना कर्ममार्फत आमाको शिर उचो बनाउने दायित्व सम्झनुपर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले माता र मातृभूमि दुवै स्वर्गभन्दा महान् हुने उल्लेख गर्दै आमाको काखलाई संसारकै सबैभन्दा न्यानो आश्रय र चरणलाई पवित्र तीर्थसँग तुलना गरेका छन् । उनले देशलाई आमाको प्रतीकका रूपमा लिँदै समृद्ध र उज्ज्वल नेपालको निर्माणमा सबै नागरिक एकजुट हुनुपर्ने सन्देश पनि दिएका छन् ।


सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री शाहले सम्पूर्ण आमाहरूको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै आमालाई सधैँ खुसी राख्ने संस्कार विकास गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले सन्तानहरूले आमाप्रतिको सम्मानलाई व्यवहारमा उतार्दै समाजलाई अझ सभ्य र संवेदनशील बनाउने विश्वास व्यक्त गरेका छन् ।

हेरौं प्रधानमन्त्री शाहको सन्देश जस्ताको तस्तै :

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button