व्यासहेडलाईनसमाचारगण्डकी

आमाको मुख हेर्ने दिनमै टुहुरा बनेका आमा : व्यासको वृद्धाश्रममा पीडाको मौन कथा

• अमरराज नहर्की । प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८३ शुक्रबार । मातातिर्थ औँसी अर्थात् ‘आमाको मुख हेर्ने दिन’ देशभरि हर्षोल्लासका साथ मनाइँदै गर्दा आज तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित ज्येष्ठ नागरिक मिलन चौतारी वृद्धाश्रममा भने फरक दृश्य देखियो। यहाँका आमाहरूका लागि यो दिन उत्सव होइन, बरु सन्तानको पर्खाइमा बित्ने पीडादायी क्षण बनेको छ।

बिहानैदेखि ढोकातिर आँखा गाडेर बसेका वृद्ध आमाहरूको मनमा एउटै आशा थियो—सायद आज त सन्तान आउलान् कि! तर दिन ढल्दै जाँदा त्यो आशा आँसुसँगै बगिरहेको देखिन्थ्यो। ७१ वर्षीया मिठुमाया पोख्रेलजस्ता धेरै आमाहरूको कथा उस्तै छ। तीन छोरा र एक छोरी हुँदाहुँदै पनि आफन्तको माया नपाएर वृद्धाश्रमको शरण लिन बाध्य उनि भन्छिन्, “आज सबैले आमासँग रमाइरहेका होलान्, तर हाम्रा सन्तान कहाँ छन्?” बुहारीको अपमान सहन नसकेर घर छोडेको पीडा अझै ताजै छ, त्यसमाथि यहाँ आएपछि सन्तानले फोनसमेत नगरेको गुनासो उहाँको आवाजमै झल्किन्छ।

आश्रमका व्यवस्थापक सफल पौडेलका अनुसार आजको दिन आमाहरूमा सबैभन्दा ठूलो अपेक्षा हुने गर्छ, तर त्यो अपेक्षा पूरा नहुँदा उनीहरूको पीडा झनै गहिरिन्छ। यता, यही पीडाबीच केही सन्तान भने आफ्नो आमा गुमाएपछि यही आश्रममा ममता खोज्दै आएका छन्। व्यास–२ की बिना आले मगरले आफ्नी दिवंगत आमाको सम्झनामा यहाँका आमाहरूलाई भोजन गराउँदै सेवा गरिन्। “आमा नहुँदाको पीडा आज झन् महसुस भयो,” उनले भावुक हुँदै भनिन्। यसरी एकातिर सन्तानको प्रतीक्षामा आँसु झार्ने आमाहरू छन् भने अर्कोतिर आमाको अभावमा यही आश्रममा माया खोज्ने सन्तति—यी दुई विपरीत भावनाले आजको दिनलाई व्यासको यस वृद्धाश्रममा अझै गहिरो र अर्थपूर्ण बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button