प्रहार समाचार । तनहुँ, २९ चैत २०८२ आईतबार । तनहुँको व्यास नगरपालिका–११, सेरामा सञ्चालनमा आएको ‘सेरा कस्मेटिक एण्ड फेन्सी कलेक्सन’ ले गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ। बढ्दो विदेश मोह र रोजगारीको खोजीमा युवाहरू बाहिरिने क्रम तीव्र भइरहेका बेला स्थानीय स्तरमै व्यवसाय सुरु गरी आत्मनिर्भर बन्ने पहलले यस क्षेत्रका युवामाझ सकारात्मक सन्देश दिएको छ।

कस्मेटिक, जेन्स तथा लेडिजका विभिन्न फेन्सी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त पसल छोटो समयमै स्थानीय उपभोक्ताको रोजाइमा पर्न थालेको छ।

पसलकी सञ्चालिका शोभा पौडेल कैनीले स्वदेशमै केही गरौं, आफ्नै गाउँघरमै सम्भावना खोजौं भन्ने सोचका साथ व्यवसाय सुरु गरेको बताइन्। “विदेश जानु नै सफलता होइन, आफ्नो ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वासले यो यात्रा सुरु गरेकी हुँ,” उनले भनिन्। उनले सानो लगानीबाट सुरु गरिएको व्यवसायलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको समेत सुनाइन्। ग्राहकको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता उनको छ।

श्रीमान अमित कैनीले पनि व्यवसायमा साथ दिँदै सँगै अगाडि बढ्ने लक्ष्य रहेको बताए। उनले परिवारको सहकार्य र स्थानीयको साथ–सहयोगले व्यवसायलाई दिगो बनाउने विश्वास व्यक्त गरे। “आत्मनिर्भर बन्ने सोच भए सम्भावना गाउँमै पनि प्रशस्तै छन्,” उनले भने, “मेहनत, धैर्यता र निरन्तरता भए सफल हुन सकिन्छ।”
पसलको शुभारम्भ कार्यक्रममा सहभागी दमौलीका व्यवसायिहरू मनोज अधिकारी, राजु दाहाल र सूर्यमणी पौडेलले यस्ता साना व्यवसायहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनीहरूले गाउँमै उद्यम सुरु गर्नु चुनौतीपूर्ण भए पनि दीर्घकालीन रूपमा अत्यन्त फलदायी हुने धारणा राख्दै युवाहरूलाई विदेशको विकल्पको रूपमा स्वरोजगारतर्फ आकर्षित हुन आग्रह गरे। “यस्ता प्रयासले अरू युवालाई पनि प्रेरणा दिन्छ, अब गाउँमै बसेर केही गर्ने संस्कार विकास हुनुपर्छ,” उनीहरूको भनाइ थियो।

स्थानीय उपभोक्ताका लागि आवश्यक सामग्री आफ्नै ठाउँमा उपलब्ध हुँदा बजारसम्म धाउनुपर्ने झन्झट घटेको छ भने समय र खर्च दुवै बचत भएको उनीहरू बताउँछन्। यसले गाउँमै साना व्यवसायहरू विस्तार हुने सम्भावनालाई थप बल दिएको छ।
समग्रमा, ‘सेरा कस्मेटिक एण्ड फेन्सी कलेक्सन’ केवल एक व्यवसाय नभई आत्मनिर्भरता, उद्यमशीलता र गाउँमै सम्भावना खोज्ने सोचको प्रतिनिधि उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। रोजगारीका लागि विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिँदै यसले स्थानीय तहमा आर्थिक गतिविधि बढाउने र युवालाई स्वदेशमै केही गर्ने हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।




























