प्रहार समाचार । तनहुँ, २६ चैत २०८२ बिहीबार । ‘विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मूल नाराका साथ नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र र इलेक्ट्रीकल इन्जिनियर्स एसोसिएसन, नेपालको आयोजनामा आज व्यास नगरपालिका–५, चापघाटमा ३०औं विद्युतीय सुरक्षा दिवस २०८२ अन्तर्गत प्रभातफेरी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ ‘हिमाल’ ले विद्युतको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै घर–घरमा सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गरेर विद्युत दुर्घटना न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख पवन पौडेलले विद्युतको सुरक्षित प्रयोग नै दुर्घटना न्यूनीकरणको मुख्य उपाय भएको बताए। उनले विद्युतिय सुरक्षा र अपनाउनुपर्ने सावधानीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै घरायसी तथा सार्वजनिक प्रयोगमा हुने लापरबाही नै अधिकांश दुर्घटनाको कारण बन्ने उल्लेख गरे। “विद्युत दुर्घटना संयोग होइन, सुरक्षा प्रतिको बेवास्ता हो,” भन्ने सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्राविधिक प्रमुख बेनी नेपाली तथा सिनियर मिटर रिडर प्रकाश पाण्डेयले विद्युत सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। कार्यक्रमको सहजिकरण प्रकाश पाण्डेयले गरेका थिए।


जनकटार टोल विकास संस्थाकी उपाध्यक्ष मुन्नि शाही लगायत स्थानीयवासीले वितरण केन्द्रलाई सेवा सुधार तथा सुरक्षासम्बन्धी विभिन्न सुझाव दिएका थिए।

कार्यक्रममा “प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौं”, “सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो”, “सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा” जस्ता सन्देशहरू प्रवाह गरिएको थियो।

तनहुँ जिल्लामा हाल करिब ८३ हजार विद्युत ग्राहक रहेको जानकारी दिँदै सबैलाई सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरिएको छ।




























