प्रहार समाचार । काठमाडौं, २६ चैत २०८२ बिहीबार । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। उनले संघीय संसद् सचिवालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी पेश गरेकी हुन्।

ठाकुरको प्रस्तावकका रूपमा श्रम संस्कृति पार्टीका आरेन राई रहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोक चौधरी र श्रम संस्कृति पार्टीकी अम्बिकादेवी संग्रौलाले उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।
उपसभामुख चयनका लागि सत्ता र विपक्षबीच सहमति जुट्ने वा प्रतिस्पर्धा हुने भन्ने विषय अब रोचक बन्ने देखिएको छ। ठाकुरको उम्मेदवारीसँगै उपसभामुख चयन प्रक्रिया थप सक्रिय बनेको छ।



























