हेडलाईनसमाचारविजनेसशुक्लागण्डकी

उत्पादक–उपभोक्ता मूल्य अन्तर घटाउन तनहुँको शुक्लागण्डकीका बोइलर किसानको माग

प्रहार समाचार । तनहुँ, २३ चैत २०८२ सोमबार । बोइलर कुखुरा पालक किसानले उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तर अत्यधिक भएको भन्दै शुक्लागण्डकी नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्। आज नगरपालिकामा पुगेका किसानले विक्रेताको मनोमानीका कारण आफूहरू मारमा परेको गुनासो गरेका हुन्।

किसान प्रतिनिधि विशन गुरुङले उत्पादकले उचित मूल्य नपाइरहेको र उपभोक्ता भने पसलअनुसार फरक–फरक मूल्य तिर्न बाध्य भएको बताए। “विक्रेताकै कारण अधिकांश किसान पेशाबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्,” उनले भने, “कुखुराको मासुमा उत्पादक र उपभोक्ताबीच ठूलो मूल्य अन्तर छ, तर किसानले आफ्नो लागतसमेत उठाउन सकेका छैनन्।” उनले सप्लायर्सले महिनौंसम्म भुक्तानी नगर्ने प्रवृत्तिले किसान आर्थिक संकटमा परेको पनि बताए।


किसानले नगरपालिकासँग कुखुरा तथा मासुको न्यूनतम र अधिकतम समर्थन मूल्य तोक्न, कुखुरा उठाएपछि तत्काल भुक्तानी सुनिश्चित गर्न र नगरभर मूल्य एकरूप बनाउन माग गरेका छन्। माग पूरा नभए आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।


अर्का किसान बोमबहादुर गमालले पनि उत्पादक र उपभोक्ता दुवै पक्ष मारमा परेको बताए। “हामीले निकै कम मूल्य पाउँछौं, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्छ। बीचमा सप्लायर्सले नै मूल्य निर्धारण गर्छन्,” उनले भने।


नगरपालिकाका उपप्रमुख खुमबहादुर ‘विक’ राजुले किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले किसान, सप्लायर्स र उपभोक्ताबीच छलफल गरेर निष्कर्ष निकालिने बताए।
किसानले बुझाएको ध्यानाकर्षणपत्रमा स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिएको दाबी गरे पनि व्यवहारमा किसानको समस्या बेवास्ता गरिएको उल्लेख छ। साथै, विक्रेताको मनपरी र ढिलो भुक्तानीका कारण कुखुरापालन व्यवसाय नै संकटमा परेको भन्दै तत्काल हस्तक्षेप गर्न माग गरिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button