हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङमा भएको बाघचाल प्रतियोगितामा बडागाउँका गुरुङ प्रथम

• विजय अधिकारी ( प्रहार संवाददाता ) २३ चैत २०८२ सोमबार । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको १०औँ स्थापना दिवसका अवसरमा आयोजित तीन दिवसीय ठाडोभाका मेलाअन्तर्गत सम्पन्न बाघचाल प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी अनिल गुरुङ प्रथम भएका छन्।

प्रतियोगितामा बेसीशहर नगरपालिका–६ चनौटेका होमबहादुर राउत दोस्रो तथा मर्स्याङ्दी–८ कै डिल्लीराम भुजेल तेस्रो भए। स्याङ्जा फेदीखोलाका चन्द्रबहादुर रानाभाट सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका संयोजक रमाराज खनियाले जानकारी दिए। उनका अनुसार फाइनल चरणमा ‘बेष्ट अफ फाइभ’ र अन्य खेलहरू ‘बेष्ट अफ थ्री’ का आधारमा खेलाइएको थियो।

मौलिक संस्कृतिको उत्थान–हाम्रो अभियान’ नारासहित सञ्चालन गरिएको मेलाको समापन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख अतिथि गुरुङले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता मौलिक खेल र संस्कृतिको संरक्षणमा स्थानीय सरकार सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा पूर्व प्रमुख जिल्ला अधिकारी रमेशचन्द्र अधिकारीले बाघचाल (बाघ गट्टे) नेपाली पहिचान झल्काउने मौलिक खेल भएको उल्लेख गर्दै पछिल्लो पुस्तामा यसको ज्ञान घट्दै गएको भन्दै संरक्षण आवश्यक रहेको बताए।


तीन दिवसीय मेलाको उद्घाटन भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले गरेका थिए। कार्यक्रममा प्रतिष्ठानको स्मारिका, लोगो तथा नाम अंकित डटपेनसमेत विमोचन गरिएको थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button