प्रहार समाचार । तनहुँ, १८ चैत २०८२ बुधबार । व्यास नगरपालिकाले सेवा प्रवाह, विकास निर्माण र नीति कार्यान्वयनबारे नागरिकलाई जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । कार्यक्रम चैत २० गते शुक्रबार बिहान ११ बजे व्यास–७ कलेस्तीस्थित वडा कार्यालय भवनमा हुने जनाइएको छ । तस्बिर: प्रहार अनलाइन मिडिया

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा हुने सुनुवाइमा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहनेछ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चौमासिक प्रगति समीक्षा गरिनेछ । विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षा क्षेत्रका कामहरूको विवरण प्रस्तुत गरिनेछ । कार्यक्रममा सेवाग्राहीले आफ्ना गुनासा, जिज्ञासा र सुझाव प्रत्यक्ष राख्न सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझावलाई आगामी योजना निर्माण र सेवा सुधारमा समेटिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
सुनुवाइमा राजश्व संकलन, बजेट खर्चको पारदर्शिता, सेवा प्रवाहका समस्या र सुधारका प्रयासबारे छलफल हुनेछ । नागरिक सहभागितामार्फत स्थानीय सरकारलाई उत्तरदायी र पारदर्शी बनाउने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि पनि नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएको र प्राप्त सुझावका आधारमा सुधारका काम अघि बढाइएको जनाएको छ



























