प्रहार समाचार । काठमाडौँ, १२ चैत्र २०८२ विहिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा आयोजना हुने तय गरिएको छ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकमा मुख्यतः संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जानकारी दिएका छन्। यसअघि रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो।

यसैबीच, संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरेको छ। शपथपछि रास्वपाको केन्द्रीय समिति बैठक बस्ने र पार्टी विधानअनुसारका व्यवस्थाबारे पनि छलफल हुने बताइएको छ।

रास्वपाको विद्यमान विधानको धारा ६६ (८) अनुसार संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने व्यवस्था छ, जसमा समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूमध्ये इच्छुक व्यक्तिहरूबीच प्रतिस्पर्धा हुने र पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्न पाउने प्रावधान रहेको छ। तर, यस व्यवस्थालाई परिमार्जन गरी वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै दुई तिहाइ नजिक समर्थन प्राप्त गरेको दाबी गरिएको छ।



























