• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ११ चैत २०८२ बुधबार । सडक फराकिलो बनाउने क्रममा लमजुङमा भएको दुर्घटनामा एक युवा एक्साभेटर चालकको ज्यान गएको छ। मर्स्याङ्दी गाउँपालिका–२ भाचे–भदौरे नजिकै बुधबार बिहान ढुंगा निकाल्ने क्रममा अचानक खसेको पहिरोले एक्साभेटरसहित चालक पुरिँदा घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा नवलपुर (कावासोती) घर भएका करिब २० वर्षीय विक्की महतो रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। आज प्र ३–०१–००३६ नम्बरको एक्साभेटर चलाएर सडक विस्तारका लागि ढुंगा फुटाउँदै गर्दा माथिबाट पहरा खस्दा उनी पुरिएका थिए।

जिल्ला प्रहर कार्यालय बेसिशहरका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुर्घटनापछि स्थानीय र प्रहरीको टोलीले संयुक्त रूपमा उद्धार गरेको थियो। तर, गम्भीर रूपमा पुरिएका महतोलाई जिवितै निकाल्न सम्भव नभएको उनले बताए। शव निकालेर पोस्टमार्टमका लागि बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङमा राखिएको छ ।
महतो केही दिनअघि मात्रै कामका लागि लमजुङ आएका थिए। सडक निर्माणका क्रममा आवश्यक सुरक्षा सतर्कता नअपनाउँदा यस्ता दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले कामदारको सुरक्षामा ध्यान दिन र जोखिमयुक्त स्थानमा काम गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।



























