प्रहार समाचार । काठमाडौं, ११ चैत २०८२ बुधबार । दैनिक जीवन धान्नै मुस्किल बनाइरहेको महँगीबीच नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। ११ दिनको छोटो अन्तरालमै गरिएको १५ रुपैयाँको वृद्धि निर्णयले सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ भने बजारमा थप महँगी चुलिने संकेत देखिएको छ।

निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो। नयाँ दरअनुसार पेट्रोल पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। डिजेल/मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम गरिएको छ।
यससँगै राजधानी काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ। लगातारको मूल्यवृद्धिले ढुवानी खर्च बढ्ने र त्यसको असर सिधै दैनिक उपभोग्य वस्तुमा पर्ने निश्चितजस्तै देखिएको छ। व्यापारीहरूले समेत अब बजार भाउ पुनः समायोजन गर्नुपर्ने अवस्था आउने बताएका छन्।
निगमले यसअघि चैत १ गते पनि मूल्य बढाएको थियो। छोटो समयमा पटक–पटक मूल्य बढाइनुले सरकारको मूल्य नियन्त्रण क्षमतामाथि प्रश्न उठ्न थालेको छ। भौगोलिक वर्गीकरणअनुसार पहिलो वर्गमा चारआलीदेखि वीरगञ्जसम्मका डिपो, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल डिपो राखिएको छ।



























