प्रहार समाचार । तनहुँ, ११ चैत २०८२ बुधबार । तनहुँको व्यास नगरपालिका–३ निवासी युवा ईशान श्रेष्ठको अमेरिकामा निधन भएको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ। आकस्मिक स्वास्थ्य समस्या देखिएसँगै हतारहतार उपचारको प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको बुझिएको छ।

३७ बर्षका श्रेष्ठ केहि वर्षदेखि अमेरिकामा व्यवसाय गर्दै आएका थिए। परदेशमा संघर्ष गर्दै आफ्नो भविष्य निर्माणमा जुटेका उनी सक्रिय र मिलनसार स्वभावका रूपमा चिनिन्थे। उनको असामयिक निधनको खबर सार्वजनिक भएसँगै दमौलीसहित उनका आफन्त र चिनजानमा रहेका व्यक्तिहरू स्तब्ध बनेका छन्।
स्वर्गीय श्रेष्ठ दमौलीका व्यवसायी शान्त श्रेष्ठका एक्ला छोरा हुन्। एक्लो सन्तान गुमाउनुपर्दा परिवारमा ठूलो बज्रपात परेको छ। स्थानीयस्तरमा पनि उनको निधनले गहिरो शोक छाएको छ, जहाँ उनलाई एक सम्भावनायुक्त र मेहनती युवाका रूपमा सम्झिने गरिन्छ। ।
उनको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने क्रम बढ्दो छ। आफन्तजन तथा शुभेच्छुकहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।



























