प्रहार समाचार । तनहुँ, ११ चैत २०८२ बुधबार । पृथ्वीराजमार्ग अन्तर्गत आबुखैरेनी क्षेत्रमा प्रहरीको सक्रिय निगरानीले लागू औषध ओसारपसारमा संलग्न दुई युवक पक्राउ परेका छन्। आँबुखैरेवी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको टोलीले छुट्टाछुट्टै समयमा चेकजाँचका क्रममा गाजा र ट्रामाडोल बरामद गर्दै उनीहरुलाई आज नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनिहरुलाई आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँचका क्रममा काठमाडौंबाट वेनीतर्फ जाँदै गरेको बसमा सवार शुक्लागण्डकी नगरपालिका–४ निवासी ३० वर्षीय निरोज बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले झोलाभित्र लुकाएर ल्याएको करिब ९६५ ग्राम गाँजा बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय आबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको छ ।
यसैगरी प्रहरीले हिंजो सोही स्थानमा मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको माइक्रोबस चेकजाँच गर्दा व्यास नगरपालिका–१४ का २५ वर्षीय केशव थापालाई प्रहरीले शंकाका आधारमा जाँच गरेको थियो। उनको झोलाबाट १४३ क्याप्सुल ट्रामाडोल फेला परेपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय पृथ्वीराजमार्ग लागू औषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको संकेत देखिएकाले निगरानी कडा पारिएको छ। पक्राउ परेका दुवैजनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय स्तरमै लागू औषधको प्रयोग र ओसारपसार बढ्दै जानु चिन्ताको विषय भएको भन्दै प्रहरीले यस्ता गतिविधि रोक्न सबैको सहकार्य आवश्यक रहेको बताएको छ। युवापुस्तामा बढ्दो लागू औषध दुरुपयोगले समाजमै नकारात्मक असर पार्ने भएकाले सचेतना र नियन्त्रण दुवै पक्षलाई सँगै अघि बढाउनुपर्ने देखिएको छ।



























