प्रहार समाचार । काठमाडौँ, ११ चैत्र २०८२ बुधबार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब सडकबाटै जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्ने रणनीति लिएको बताएका छन्। उनले सरकार सञ्चालनको वैकल्पिक दृष्टिकोण सहित आम नेपालीको पक्षमा सक्रिय हुने स्पष्ट पारे।

उनका अनुसार पार्टीले देशको राष्ट्रियता, आर्थिक समृद्धि र जनजीवनसँग सम्बन्धित समस्याहरूमा सशक्त रूपमा आवाज उठाउँदै दबाबमूलक भूमिका खेल्नेछन्। हालै सम्पन्न निर्वाचनको समीक्षा गरिसकिएको जानकारी दिँदै उनले परिणाम अनुकूल नआए पनि पार्टी जनसमर्थनका हिसाबले अगाडि रहेको दाबी गरे।
घिसिङले अब सातै प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिने बताए। प्रदेशस्तरबाट सुरु हुने यो अभियान जिल्ला, पालिका हुँदै वडा तहसम्म पुग्नेछ र घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गरिनेछ।

उनले आगामी स्थानीय तह र प्रदेशसभा चुनावलाई लक्षित गर्दै पार्टीलाई सशक्त विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको उल्लेख गरे। पार्टीले जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने तयारीमा रहेको उनको भनाइ छ।



























