प्रहार समाचार । तनहुँ, १० चैत २०८२ मंगलबार । तनहुँको वन क्षेत्रमा पाइने कटुस (चेस्टनट) रुखको फूल फुल्ने सिजनमा संकलन गरिने ‘कटुस मह’ यतिबेला विश्व बजारमा पुगेको छ। उच्च गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री भइरहेको यो महले स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ।

यो मह हाल प्रतिकिलो करिब ७५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने २५० ग्रामकै मूल्य करिब ८३ अमेरिकी डलरसम्म पुगेको छ। ‘Marani Chestnut Honey’ नामबाट अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्ममार्फत बिक्री भइरहेको उक्त महले नेपाली मौरीपालन र वनजन्य उत्पादनको सम्भावनालाई विश्वसामु प्रस्तुत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्ले ले सामाजिक सञ्जालमार्फत यस्तो उपलब्धिप्रति खुशी व्यक्त गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास सराहनीय रहेको बताएका छन्। सूर्य नेपालको ‘हिमालयन ट्रेजर’ ब्राण्डमार्फत गरिएको प्रशोधन, परीक्षण, प्याकेजिङ र बजार विस्तारले यस्ता उत्पादनलाई विश्व बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
कटुस मह केवल एउटा उत्पादन मात्र होइन, ग्रामीण अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत पनि हो। वन क्षेत्रमा आधारित मौरीपालन व्यवसायले स्थानीय कृषकको आम्दानी वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्न मद्दत पुर्याइरहेको छ। प्राकृतिक स्रोतको सदुपयोग गर्दै उच्च मूल्यका उत्पादन निर्यात गर्न सकिने सम्भावनालाई यसले थप बलियो बनाएको छ।

सांसद वाग्लेले यस्ता उदाहरणले देशभर थप लगानी भित्र्याउने र कृषि तथा वनजन्य उत्पादनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्। उच्चस्तरीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि मजबुत बनाउने दिशामा कटुस मह प्रेरणादायी उदाहरणका रूपमा देखिएको छ।



























