हेडलाईनसमाचारविचारसबै प्रदेशस्वास्थ्य

पटक–पटक तताइएको तेलको प्रयोग र यसले स्वास्थ्यमा निम्त्याउने समस्या

‘एउटै तेलमा बारम्बार खाना पकाउँदा ट्रान्सफ्याटको मात्रा बढ्छ। ट्रान्सफ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक बोसो हो, जसले शरीरमा खराब लिपिड्स बढाएर मुटुरोगको जोखिम उच्च बनाउँछ। त्यसैले यस्ता तेलको प्रयोगलाई नियन्त्रण गर्नु अत्यावश्यक छ ।’ भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य लेख्छन् :

हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाने तेल केवल स्वादको माध्यम मात्र होइन, स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण तत्व पनि हो। तर पछिल्लो समय तेललाई पटक–पटक तताउने र पुनःप्रयोग गर्ने बानीले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको छ। विशेषगरी होटल तथा रेस्टुरेन्टहरूमा एउटै तेल बारम्बार प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ, जसले खाद्य सुरक्षामा चुनौती थपेको छ।
तेललाई बारम्बार तताउँदा त्यसको रासायनिक संरचनामा परिवर्तन आउँछ। यस क्रममा तेलमा ‘पोलार कम्पाउन्ड’ भनिने हानिकारक तथा विषाक्त तत्वहरू उत्पादन हुन्छन्। यी तत्वहरू शरीरका लागि अत्यन्तै जोखिमपूर्ण हुन्छन्। यस्ता दूषित तेलको सेवनले एलर्जी, खराब कोलेस्ट्रोल (LDL) को मात्रा वृद्धि, मुटुसम्बन्धी रोग, क्यान्सर लगायत दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ।


उच्च गुणस्तरको खाने तेलमा यस्ता हानिकारक तत्वहरू न्यून मात्रामा हुन्छन्। तर तेललाई पटक–पटक तताउँदा र प्रयोगपछि भाँडाहरू राम्रोसँग सफा नगर्दा यी तत्वहरूको मात्रा क्रमशः बढ्दै जान्छ। अन्ततः यस्तो तेल उपभोगका लागि अयोग्य (दूषित) बन्छ, तर व्यवहारमा भने यस्ता तेलकै प्रयोग भइरहेका छन्, जुन चिन्ताजनक विषय हो।

तेल पुनःप्रयोगको समस्या विशेषगरी व्यावसायिक भान्सामा बढी देखिन्छ। एउटै तेलमा बारम्बार खाना पकाउँदा ट्रान्सफ्याटको मात्रा बढ्छ। ट्रान्सफ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक बोसो हो, जसले शरीरमा खराब लिपिड्स बढाएर मुटुरोगको जोखिम उच्च बनाउँछ। त्यसैले यस्ता तेलको प्रयोगलाई नियन्त्रण गर्नु अत्यावश्यक छ।


यस अवस्थालाई अनुगमन तथा नियन्त्रण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘टोटल पोलार मिटर’ (TPM) नामक डिजिटल उपकरण प्रयोग गर्दै आएको छ। यस उपकरणले तेलको गुणस्तरलाई ट्राफिक बत्तीको संकेतझैँ देखाउँछ। टिपिएम मान २२ प्रतिशतभन्दा कम भए तेल सुरक्षित (हरियो संकेत) मानिन्छ। २२ देखि २५ प्रतिशतसम्म पुगेमा सावधानी अपनाउनुपर्ने (पहेँलो संकेत) देखिन्छ भने २५ प्रतिशतभन्दा माथि पुगेको तेल पूर्ण रूपमा हानिकारक (रातो संकेत) मानिन्छ।


२५ प्रतिशतभन्दा बढी टिपिएम भएका तेलमा बनेका खानेकुरामा ट्रान्सफ्याटको मात्रा उच्च हुन्छ, जसले स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्छ। त्यसैले यस्ता तेलको प्रयोग तत्काल बन्द गर्न आवश्यक हुन्छ।


स्वस्थ समाज निर्माणका लागि खाद्य स्वच्छता र सुरक्षित खानाको अभ्यास अनिवार्य छ। तेलको सही प्रयोग, समयमै परिवर्तन र भाँडाको उचित सरसफाइले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ। उपभोक्तादेखि व्यवसायी सबैले यसतर्फ सचेत हुनु आजको आवश्यकता हो। १० चैत २०८२ मंगलबार ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button