प्रहार समाचार । तनहुँ, ९ चैत २०२ सोमबार । तनहुँको भानु नगरपालिकामा यही चैत १४ देखि १७ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। गाउँमै सेवा नपाएर समस्या झेलिरहेका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। विशेषगरी मोतियाबिन्दु भएका बिरामीलाई केन्द्रमा राखेर सेवा दिइने जनाइएको छ।

शिविरमा निःशुल्क आँखा जाँच, औषधि वितरण र मोतियाबिन्दुको शल्यक्रियाका लागि बिरामी छनोट गरिनेछ। नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, सेवा फाउन्डेसन, भानु नगरपालिका लगायत विभिन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रमअनुसार चैत १४ गते भानु–३ खहरे र भानु–१ पुलचोक, चैत १५ गते भानु–१३ चन्द्रावती र भानु–९ बाइसजंगारमा शिविर बस्नेछ। यस्तै चैत १६ र १७ गते भानु–२ नारेश्वरटारस्थित आँखा उपचार केन्द्रमा सेवा दिइने जनस्वास्थ्य निरीक्षक सुभास रेग्मीले जानकारी दिए।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा नजिकको केन्द्रमा पुगेर सेवा लिन सकिनेछ। आवश्यक परे शल्यक्रियाको प्रक्रिया समेत अगाडि बढाइने र यसबाट ग्रामीण भेगका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास नगर प्रमुख आनन्दराज त्रिपाठीले व्यक्त गरेका छन्।



























