प्रहार समाचार । तनहुँ, ९ चैत २०८२ सोमबार । विदेशमा बसोबास गर्ने तनहुँवासीहरूको पहलमा संकलित सहयोग रकमले जिल्लाका दीर्घ रोगीहरूलाई राहत पुगेको छ। तनहुँ समाज हङकङमार्फत संकलन गरिएको रकमबाट मिर्गौला र क्यान्सरबाट पीडित दुई जनालाई आज जनही २ लाख २६ हजार २ सय ५० रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको हो।

ऋषिङ गाउँपालिका–६ निवासी ३५ वर्षीया कुमारी आले विगत तीन वर्षदेखि दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलासिस गराउँदै आएकी छन्। त्यस्तै, म्याग्दे गाउँपालिका–५ निवासी प्रेमबहादुर थापा फोक्सोको क्यान्सरबाट पीडित छन्। उनीहरूको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित रकम हस्तान्तरण गरिएको तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङले जानकारी दिए।

उक्त सहयोग रकम हङकङमा रहेका लालबहादुर थापा तथा समाजका प्रवक्ता विपिन थापा मगरको संयोजकत्वमा संकलन गरिएको हो। लामो समयदेखि विदेशमा रहेर पनि आफ्नै जिल्लाका बिरामीहरूको पीडामा साथ दिनुपर्छ भन्ने भावनासहित अभियान सञ्चालन गरिएको जनाइएको छ।
रकम हस्तान्तरण कार्यक्रम नेपाल पत्रकार महासंघ तनहुँको भवनमा आयोजना गरिएको थियो। कार्यक्रममा समाजका पूर्व अध्यक्ष गुरुङ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले संयुक्त रूपमा पीडितलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सन १९९९ देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको तनहुँ समाज हङकङले यसअघि पनि जिल्लाका समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्दै आएको छ। हालसम्म समाजले २५ जना दीर्घ रोगीलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको जनाएको छ।



























