हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

व्यास नगरपालिकाद्वारा संयुक्त रूपमा बजार अनुगमन : तौलमा ठगी र म्याद गुज्रिएका सामान बरामत

प्रहार समाचार । तनहुँ, ९ चैत २०८२ सोमबार । व्यास नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतले संयुक्त रूपमा आज गरेको बजार अनुगमनका क्रममा दमौली बजार आसपासमा रहेका ग्यास डिपो र खाद्य पसलमा अनियमितता फेला पारेको छ। उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा गठित बजार अनुगमन समितिले वडा नं. ४ का विभिन्न ग्यास डिपो तथा व्यास २ का पसलहरुमा अनुगमन गर्दा कम तौल र म्याद गुज्रिएका सामान भेटिएका हुन्। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

अनुगमनका क्रममा दमौली ग्यास बिक्री केन्द्र, भानु ग्यास, नेपाल ग्यास र जानकी ग्यासमा तोकिएको भन्दा १८० ग्रामसम्म कम तौल पाइयो। यस्तै, व्यास–४ स्थित शुभलक्ष्मी सप्लायर्सले बिक्री गर्दै आएको बाबा ग्यासमा पनि ८० ग्राम कम तौल भेटिएको समितिले जनाएको छ। यसले उपभोक्तालाई प्रत्यक्ष मार परेको निष्कर्ष निकालिएको छ।

त्यसैगरी, व्यास–२ स्थित फेमिली स्टोर्समा फेन्टा पेय पदार्थ र कोकोनट बिस्कुट म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ। सिद्धार्थ होटल र सेन्टर प्वाइन्ट मम रेष्टुरेन्टमा समेत अनुगमन गरिएको थियो।

अनुगमन समितिका संयोजक दरैले उपभोक्ता ठगी सह्य नहुने भन्दै व्यवसायीलाई नियमअनुसार व्यापार गर्न कडाइका साथ निर्देशन दिएकी छन्।


अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरीप्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी ज्योति आचार्य, उद्योग वाणिज्य संघका प्रतिनिधि शेषराज श्रेष्ठ, वडा अध्यक्षहरू काशीराम श्रेष्ठ र अनुप राना, सदस्य सचिव रामचन्द्र हड्खले तथा प्रशासन सहायक विन्दु पौडेल लगायतको सहभागिता रहेको थियो। टोलीले आगामी दिनमा अनुगमनलाई अझ कडा बनाउँदै उपभोक्ता हित संरक्षणमा ध्यान केन्द्रित गर्ने जनाएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button