प्रहार समाचार । तनहुँ, ८ चैत २०८२ आइतबार । । समाजमा शान्ति, सद्भाव, नैतिकता र आध्यात्मिक चेतनाको जागरण गर्ने उद्देश्यसहित विकासानन्द फाउण्डेसन विश्व परिवारले ‘मनोक्रान्ति ध्यान पदयात्रा २०८२’ आयोजना गर्ने भएको छ । पोखरा–२३ चराङस्थित आश्रमबाट सुरु हुने यो पदयात्रा गोरखाको ऐतिहासिक गोरखाकाली मन्दिरसम्म करिब १२५ किलोमिटर दूरी पार गर्दै सञ्चालन गरिनेछ । आयोजकका अनुसार यो अभियान केवल यात्रामा सीमित नभई मानव जीवनमा सकारात्मक रूपान्तरण ल्याउने आध्यात्मिक अभियानका रूपमा अघि सारिएको छ ।

पदयात्राको पहिलो चरण चैत १० गते कोत्रेबाट सुरु भई दमौलीस्थित व्यास गुफासम्म पुग्नेछ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस यात्रामा ध्यान, साधना र आत्मचिन्तनका अभ्यास गरिनेछन् । दोस्रो दिन चैत ११ गते दमौलीबाट आँबुखैरनीसम्म बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म यात्रा तय गरिएको छ । यात्राका क्रममा सहभागी साधक–साधिकालाई अनुशासन, संयम र आध्यात्मिक अभ्यासमा केन्द्रित गराइने आयोजकले जनाएको छ ।
दमौलीमा पदयात्रामा सहभागी साधक–साधिकाको स्वागत कार्यक्रम पनि भव्य रूपमा आयोजना गरिनेछ । चैत १० गते दिउँसो ३ बजे अन्सनचौतारीमा स्वागत कार्यक्रम तय गरिएको छ । त्यसपछि व्यास–३ स्थित सभाहलमा साँझ ४ बजेदेखि ६ बजेसम्म आध्यात्मिक एवं दार्शनिक गुरु डा. योगी विकासानन्दबाट ज्ञानयोग प्रवचन हुने कार्यक्रम रहेको छ । प्रवचनमार्फत जीवन दर्शन, आत्मबोध, आन्तरिक शान्ति र व्यवहारिक आध्यात्मिकताको विषयमा मार्गदर्शन प्रदान गरिने जनाइएको छ ।

कार्यक्रम संयोजक शंकर पराजुलीका अनुसार पदयात्रा सफल बनाउन स्थानीय तह, विभिन्न संघ–संस्था, सुरक्षा निकाय, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहकार्य अपरिहार्य रहेको छ । उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक तथा प्रचार–प्रसारमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । “यो अभियानले मानव हृदयमा शान्तिको दीप प्रज्वलित गर्दै समाजमा प्रेम, करुणा र एकताको सन्देश फैलाउने विश्वास लिएका छौं,” उनले भने ।

त्यस्तै, गण्डकी प्रदेश सचिव प्रकाश पन्तले पनि अभियानलाई सफल, सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले यो कार्यक्रमलाई साझा सामाजिक–आध्यात्मिक अभियानका रूपमा ग्रहण गर्दै सहयोग गर्न अपिल गरेका छन् ।
आयोजकले सम्पूर्ण पत्रकार, नागरिक समाज तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भई सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेको छ । सहभागीको साथ, सद्भाव र प्रेरणाले समाजमा सकारात्मक परिवर्तन ल्याउन टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
























