प्रहार समाचार। काठमाडौं , ८ चैत २०८२ आइतबार। नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण हार बेहोरेको निष्कर्ष निकालेको छ। केन्द्रीय समिति बैठकमा गरिएको समीक्षाअनुसार आन्तरिक कलह, असमझदारी र कमजोर चुनावी रणनीति पराजयका मुख्य कारण ठहरिएका छन्।

प्रवक्ता देवराज चालिसेका अनुसार ३ देखि ५ हजार मतान्तरले हारिएका क्षेत्रमा आन्तरिक मतभेद प्रमुख कारण देखिएको छ भने ५ देखि १० हजारसम्मको ठुलो मतान्तरमा पराजित भएका स्थानमा विपक्षीको प्रतिकूल भाष्यलाई प्रभावकारी रूपमा चिर्न नसक्नु कमजोरी रहेको छ। साथै, कतिपय क्षेत्रमा संगठनात्मक कमजोरीसँगै मतदाताको कांग्रेसप्रतिको विश्वासमा कमी आएको पनि बैठकले औंल्याएको छ। पार्टीले क्रियाशील सदस्य संख्या र प्राप्त मतबीचको असन्तुलनलाई समेत गम्भीर रूपमा लिएको छ। ८ लाखभन्दा बढी सदस्य हुँदाहुँदै करिब १७ लाख ५९ हजार मत मात्र प्राप्त हुनु चिन्ताजनक भएको निष्कर्ष निकालिएको छ।

यसले संगठन र जनमतबीचको दूरी बढ्दै गएको संकेत गरेको कांग्रेसको ठहर छ। बैठकमा परम्परागत मत अन्यत्र सर्ने प्रवृत्तिबारे पनि गहन छलफल भइरहेको छ। साथै नेतृत्वको कार्यशैली, सभापतिको राजीनामा र पार्टीलाई पुनः सशक्त बनाउने नयाँ रणनीतिबारे समेत बैठक केन्द्रित रहेको बताइएको छ।
























