प्रहार समाचार । तनहुँ, ८चैत २०८२ आइतबार । माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा तनहुँमा परीक्षा तयारी अन्तिम चरणमा पुगेको छ। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षामा जिल्लाभरबाट ६ हजार १५५ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ। ठूलो संख्यामा परीक्षार्थी सहभागी हुने भएपछि व्यवस्थापनलाई चुनौतीपूर्ण मानिए पनि तयारीलाई तीव्र पारिएको छ।

इकाइका सूचना अधिकारी भरत बरालका अनुसार परीक्षार्थीमध्ये ४ हजार ९४० जना नियमिततर्फका छन् भने १ हजार २१५ जना ग्रेडवृद्धितर्फका रहेका छन्। जिल्लाका १७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी हुँदैछन्। यसले परीक्षा सञ्चालनमा समन्वय, अनुगमन र व्यवस्थापनलाई थप संवेदनशील बनाएको छ।
परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर २२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। व्यास नगरपालिकाभित्र निर्मल, जलदेवी, सत्यवती, बालमन्दिर, महर्षि वेदव्यास संस्कृत तथा चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय केन्द्र तोकिएका छन्। त्यस्तै, देवघाट, बन्दीपुर, सत्रसय, पिप्ले, नारेश्वरटार, रामपुरेटार, थर्पु, खैरेनीटार, दुलेगौंडा, एक्लेखेत, ढोरफिर्दी, भिमाद, ऋषिङ र घिरिङलगायत स्थानमा पनि परीक्षा केन्द्र राखिएका छन्। केन्द्रहरूको विस्तारले विद्यार्थीलाई नजिकबाटै परीक्षा दिन सहजता हुने अपेक्षा गरिएको छ।
विशेष व्यवस्थाअन्तर्गत प्राविधिक धारतर्फका सबै नियमित तथा ग्रेडवृद्धिका परीक्षार्थीका लागि व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई एकीकृत केन्द्र बनाइएको छ। पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निर्मल माध्यमिक विद्यालयमा छुट्टै केन्द्र तोकिएको छ। त्यसैगरी देवघाटका विभिन्न संस्कृत गुरुकुलका विद्यार्थीहरूलाई महेश संस्कृत गुरुकुल केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

इकाइले परीक्षा शान्त, मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्ष तथा सम्बन्धित जनशक्तिलाई छिट्टै अभिमुखीकरण तालिम दिने तयारी गरेको जनाएको छ। साथै, सुरक्षा व्यवस्थापन, अनुगमन र समन्वयलाई कडाइका साथ लागू गर्ने योजना रहेको छ। परीक्षा सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र शिक्षा सरोकारवाला निकायबीच सहकार्यलाई समेत प्राथमिकता दिइएको छ।
























