• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । काठमाडौं, ७ चैत २०८२ शनिबार । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टीको प्रत्यक्ष संरचनाबाट बाहिरिने ऐतिहासिक निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न सिनेट बैठकले अब कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने तर विद्यार्थीहरूको हितमा केन्द्रित स्वतन्त्र संगठनका रूपमा अघि बढ्ने घोषणा गरेको हो। बैठकले संगठनलाई कार्यगत रूपमा स्वायत्त बनाउने निर्णय गर्दै विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बदलिँदो समयअनुसार संगठनलाई गतिशील बनाउन स्वायत्तता आवश्यक रहेको बताए। उनका अनुसार पार्टीको निर्देशनमा मात्र चल्नुपर्ने अवस्थाले संगठनको नियमित काम, विशेषगरी महाधिवेशनसमेत प्रभावित भएको थियो। “कार्यतालिका बनाउँदा पनि पारित नहुने, विधान संशोधन रोकिने जस्ता समस्याले संगठन अघि बढ्न सकेन,” उनले भने, “त्यसैले स्वायत्तताको निर्णय अपरिहार्य बन्यो।”
प्रवक्ता सुरज सेजुवालले यो निर्णय आस्था परिवर्तन नभई कार्यशैली सुधारका लागि भएको स्पष्ट पारे। उनले भ्रातृ संगठनको रूपमा रहँदा हरेक निर्णयमा पार्टीको हस्तक्षेप हुँदा विद्यार्थीका मुद्दा उठाउन कठिन भएको बताए। “सरकारमा पार्टी हुँदा गलत निर्णयको आलोचना गर्न नपाइने, नेताका कमजोरीको भार संगठनले बोक्नुपर्ने अवस्था थियो,” उनले भने, “अब स्वतन्त्र रूपमा विद्यार्थी र देशका मुद्दा उठाउन सकिनेछ।”

नेविसंघले कांग्रेससँगको वैचारिक सम्बन्ध भने कायम रहने जनाएको छ। बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तलाई मार्गनिर्देशक मान्दै संगठन अघि बढ्ने बताइएको छ। पदाधिकारीहरूका अनुसार यो निर्णयले नेविसंघलाई थप व्यवस्थित, स्वचालित र आन्दोलनमुखी बनाउने विश्वास गरिएको छ, जसले आगामी दिनमा विद्यार्थी राजनीतिमा नयाँ बहस र दिशा तय गर्ने अपेक्षा गरिएको छ।

























