हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकीमनोरञ्जन

पाँचौं शुक्लागण्डकी महोत्सव २०८२ सुरु : सांसद न्यौपानेले उद्घाटन गरे

प्रहार समाचार । तनहुँ, ७ चैत २०८२ शनिबार । पाँचौं शुक्लागण्डकी महोत्सव–२०८२ हिंजोबाट सुरु भएको छ। महोत्सवको उद्घाटन हालै तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद इन्जिनिया श्रीराम न्यौपाने र नगरका १०७ वर्षे जेष्ठ सदस्य गणेशबहादुर राउतले संयुक्त रूपमा गरेका हुन्।

त्यस अवसरमा सांसद न्यौपानेले ऊर्जा क्षेत्रको विकासमार्फत देशले ठूला फड्को मार्ने दाबी गरे। “सहकार्य बिना विकास सम्भव छैन,” उनले भने, “सबैको साथ लिएर अगाडि बढ्छु।”


बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा सुरु भएको महोत्सव चैत १७ गतेसम्म चल्ने छ। महोत्सव “आर्थिक–सामाजिक विकास, कृषि र पर्यटन प्रवर्द्धन, कला र संस्कृति संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ। महोत्सव नगर उद्योग वाणिज्य संघको आयोजनामा भए पनि समग्र नगरको साझा उत्सवको रुपमा रहेको अध्यक्ष समुद्रराम श्रेष्ठले स्पष्ट पारे।

कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राज भण्डारी, गण्डकी प्रदेश उपाध्यक्ष सुर्यबहादुर भुजेल, बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य, महिला उद्यमी विकास समिति शुक्लागण्डकीकी अध्यक्ष मनिषा विक, आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुलकुमार कुमालले पनि आफ्नो मन्तव्य राखेका थिए।

सोही अवसरमा सर्जक नारायणकुमार श्रेष्ठको ‘सलल शुक्लागण्डकी’ गीत सार्वजनिक गरिएको थियो। गीत बज्दा १०७ वर्षे राउतले नृत्य गरी माहोल थप रोमाञ्चक बनाएका थिए।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, धार्मिक–सांस्कृतिक पदयात्रा, पालिकास्तरीय भलिबल, रत्यौली, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य, टिकटक र रिल्स प्रतियोगिता समावेश गरिएको छ।


घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, स्वास्थ्य शिविरसहित कुल १७५ स्टल राखिएको महोत्सवमा करिब २ लाख दर्शकको सहभागिता र करिब ७५ लाख खर्च हुने अनुमान गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button