हेडलाईनसमाचारगण्डकीऋषिङविजनेससूचना प्रविधि

हाते ट्याक्टरले ऋषिङ्गका किसानलाई राहत : आधा अनुदानमा कृषि आधुनिकीकरण अभियान

प्रहार समाचार । तनहुँ, ७ चैत २०८२ शनिबार । तनहुँको ऋषिङ्ग गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै किसानको श्रम घटाउने उद्देश्यसहित नौ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि औजार कार्यक्रम अन्तर्गत आधा रकम अनुदानमा प्रदान गरिएको हाते ट्याक्टरले उत्पादन वृद्धि र समय बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


परम्परागत हलगोरुमा निर्भर खेती प्रणालीलाई क्रमशः प्रविधिमैत्री बनाउने लक्ष्यसहित गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । हाते ट्याक्टर पाएपछि किसानहरू उत्साहित देखिएका छन् भने खेतीपाती छिटो, सहज र प्रभावकारी हुने विश्वास लिइएको छ ।


वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले कृषिलाई आत्मनिर्भर र व्यवसायिक बनाउने दिशामा पालिका केन्द्रित रहेको बताए । “अनुदानका कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्छ, उत्पादन बढाउने र आम्दानी वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेका छौं,” उनले भने ।


उपाध्यक्ष गिनुमायाँ थापाले कृषिमा प्रविधिको प्रयोग बढाउनु अहिलेको आवश्यकता भएको बताइन् । उनले महिलासहित सबै किसानलाई आधुनिक औजारमा पहुँच विस्तार गर्दै उत्पादनमुखी गतिविधिमा जोड दिनुपर्ने उल्लेख गरिन् ।


प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइँले अनुदान वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाइएको जानकारी दिए । उनले कृषि क्षेत्रको दिगो विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइनेमा जोड दिए ।
गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै बढीभन्दा बढी किसानलाई समेट्ने तयारी गरेको जनाएको छ । स्थानीय तहको यस्तो पहलले ग्रामीण क्षेत्रमा कृषि पेशाप्रति आकर्षण बढ्ने र किसानको जीवनस्तर सुधार हुने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button