हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङमा ‘एकै ठाउँमा बहु–सेवा’ स्वास्थ्य शिविर : दुई सयबढि नागरिकहरु लाभान्वित

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ६ चैत २०८२ शुक्रबार । स्वास्थ्य सेवा पहुँच बाहिर रहँदै आएका मध्यम तथा ज्येष्ठ उमेर समूहलाई लक्षित गर्दै लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरले उल्लेखनीय सहभागिता पाएको छ। ४० वर्षमाथिका नागरिकलाई लक्षित शिविरमा २०० जनाले सेवा लिँदै ‘एकै ठाउँमा बहु–स्वास्थ्य जाँच’ को सुविधा पाएका छन्।


मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) को सहयोग तथा स्टेप अप एण्ड स्केल अप परियोजना अन्तर्गत आयोजना गरिएको शिविरले नसर्ने रोगको प्रारम्भिक पहिचानमा जोड दिएको थियो। शिविरमा सहभागीहरूले मुटु परीक्षण, मृगौला जाँच, रक्तचाप तथा ब्लड सुगर परीक्षणसँगै आँखा र मानसिक स्वास्थ्यसम्बन्धी सेवा एकै स्थानबाट पाएका थिए।


विशेषगरी पछिल्लो समय बढ्दै गएका नसर्ने रोगहरूलाई समयमै नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो कार्यक्रम ग्रामीण भेगका नागरिकका लागि निकै उपयोगी सावित भएको सहभागीहरूको भनाइ छ। एउटै स्थानमा विशेषज्ञ सेवा पाउँदा समय, खर्च र झन्झट घटेको उनीहरूले प्रतिक्रिया दिएका छन्।


आयोजक संस्थाका प्रतिनिधिहरूका अनुसार यस्ता शिविरले दीर्घकालीन रोगको जोखिम न्यूनीकरण मात्र होइन, समुदायमा स्वास्थ्य सचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। उनीहरूले आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक बनाउने योजना रहेको बताएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button